०४ असार २०८३, बिहीबार

काठमाडौंका फुटपाथ सजिलो बनाउन महानगरको पहल

माघ २८, २०८०
काठमाडौं
काठमाडौंका फुटपाथ सजिलो बनाउन महानगरको पहल

 महानगरले फुटपाथमा व्यापार गर्न रोक लगाए पनि काठमाडौंको मुख्य सहरी क्षेत्रका सडक किनारा पैदलयात्राका लागि सहज छैनन् । महानगरपालिकाको आफ्नै अनुगमनले पनि यस्तो पाएको छ । 

सहरमा पैदल मार्गको चौडाइ कम नै छ, भएका मार्गमा पनि बीचैमा बिजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका पाइप राखिएका छन् । खण्डीकृत योजनाले पूर्वाधार विकासमा दुष्प्रभाव पारेको महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । 

‘परम्परागत रुपमा हुने गरेका पूर्वाधार निर्माणमा रुपान्तरण नगर्ने हो भने लगानी र प्रयास नतिजामूलक हुन सक्दैन,’ उनी भन्छिन्, ‘यसका लागि तत्काल कन्ट्रोल रुम (निगरानी कक्ष) सञ्चालन हुनेछ ।’ कामपा–४ बालुवाटार क्षेत्रमा निर्माण भइरहेको पैदल मार्ग सुधारको अनुगमनका क्रममा शनिबार उनले यस्तो बताएकी हुन् । 
विकास समन्वयका लागि गत बुधबार महानगरले साझेदार कार्यालयका प्रमुख र प्रतिनिधिबीच बैठक पनि गरेको थियो । उक्त बैठकमा गरिएका निर्णयका बारेमा उनले भनिन् ‘सहरको पूर्वाधारमा काम गर्ने सबै कार्यालयका अधिकारीहरु भएको कन्ट्रोल रुम हुनेछ । निर्माण योजना कार्यान्वयनमा जाँदा त्यस क्षेत्रसँग सम्बन्धित कार्यालयको योजना र दायित्व भएका कामलाई एकीकृत गराउने जिम्मेवारी कक्षमा भएका अधिकारीको हुनेछ ।’
अहिले कन्ट्रोल रुम कार्यान्वयनमा आइनसकेकाले बालुवाटार क्षेत्रका पैदल मार्गमा दृष्टिविहीन हिँड्दा सोझै ठोकिने बिजुलीका पोल छन् । अल्झिने गरी राखिएका खानेपानीका पाइपको संख्या र स्थान यकिन गरी पोललाई स्थानान्तरण गर्न र पाइपलाई तत्काल व्यवस्थापन गर्न सम्बन्धित कार्यालयलाई पत्र पठाउन भनिएको उपप्रमुख डंगोलले बताइन् । पैदल मार्गलाई अपाङ्गता भएका व्यक्तिले सजिलै उपयोग गर्न सक्ने बनाउन अझै काम गर्नुपर्ने उनको भनाइ छ । 
पोल हटाउन यसअघि वडाबाट गरिएको पत्राचारलाई प्राधिकरणले वास्ता नगरेको कामपा–४ का वडाध्यक्ष दीनेश महर्जनले बताए । 

अनुगमनका क्रममा बालुवाटार चोकदेखि सुवर्ण शम्शेर मार्ग (बालुवाटारदेखि गैरीधारातर्फ) र थिरबम सडक (शितल निवास–बालुवाटार–नक्साल सडक) को पैदलमार्गको अवस्था हेरिएको थियो । ६ करोड २२ लाख रुपैयाँ लागत रहेको योजनामा सडकको दुवैतर्फ गरी ५.७ किलोमिटर पैदल मार्ग निर्माण हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्