२६ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

कांग्रेसमा सक्रिय हुन थाले हिन्दुवादी, ४५९ विदेशी निष्कासित

माघ २९, २०८०
काठमाडौं
कांग्रेसमा सक्रिय हुन थाले हिन्दुवादी, ४५९ विदेशी निष्कासित

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूले पार्टीले चलाएको अभियानका कारण माओवादीप्रतिको आकर्षण बढेको दाबी गरेका छन् ।
‘जनतासँग माओवादी अभियान’को समीक्षा प्रतिवेदन पेश गर्दै इन्चार्जहरूले माओवादीमा फेरि एकप्रकारको नयाँ लहर शुरू भएको बताए । 

आइतवारबाट काठमाडौंमा शुरू केन्द्रीय कमिटी बैठकको शुरूमा रिपोर्टङ गर्दै इन्चार्जहरूले जनतासँगको अन्तरक्रियाले माओवादी आगामी चुनावमा पहिलो दल बन्ने आधार तयार गरेको बताएका हुन् ।
००००
नेपाल–क्यानडा एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ । त्रिवि मैदानमा हुने खेल बिहान सवा ९ बजे शुरू हुनेछ । 
यसअघि लगातार दुई खेल जितेको नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । क्यानडा भने पहिलो जितको खोजीमा रहनेछ ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाह चितवन भ्रमणमा पुगेका छन् । काठमाडौँमा फागुन १ देखि पूर्वराजालाई नै सहभागी गराएर आन्दोलनको उद्घाटन गर्ने दुर्गा प्रसाईंले योजना भएपनि त्यसलाई छल्दै पूर्वराजा चितवन पुगेका हुन् । 
उनी केही दिन चितवनमै बस्ने र साईले निम्ता दिएपनि सहभागी नहुने पूर्वराजा निकट स्रोतले जानाएको छ ।
००००
मोडल तथा गायक दुर्गेश थापामाथि स्टेजमा गाउँदा गाउँदै जुत्ता प्रहार भएको छ । स्याङ्जाको वालिङमा प्रस्तुति दिइईरहेका बेला उनीमाथि टाउकोमै जुत्ताले प्रहार भएको हो । 

‘राजा आयो राजा, बजाईदिन्छु बाजा’ बोलको गीत गाइरहेको बेला उनीमाथि जुत्ता प्रहार भएको थियो । तर, उनीमाथि जुत्ता प्रहार भएपनि उन गाउनबाट रोकिएनन् ।
००००

नेपाली कांग्रेसको हिन्दुराष्ट्र पक्षधरले पार्टीको महासमिति बैठकअघि तयारी बैठक बोलाएको छ । बैठकमा आफूहरुको तर्फबाट राखिने मुख्य एजेण्डा तय गर्न फागुन ४ गतेका लागि बैठक बोलाइएको हो । 

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान केन्द्रीय समन्वय समितिका सहसंयोजक लोकेश ढकालले फागुन ५ गते नयाँ बानेश्वरस्थित बानेश्वर बैकेटमा अपरान्ह १२ः३० बजेदेखि महासमितिमा उठान गर्ने प्रमुख एजेन्डाबारे छलफल हुने जानकारी दिए । उनले सोही बैठकमार्फत महाअभियानको घोषण पत्र जारी गरिने कार्यकमसमेत तय भएको समेत जानकारी दिए । कांग्रेसभित्रका हिन्दुवादीहरुले निरन्तर आफ्नो अभियान चलाउने बताइएको छ । बेलाबेला कांग्रेसम हिन्दुराष्ट्रको पक्षमा बहस हुँदै आएको छ । 
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले भ्रष्टाचार मुलुकको स्वस्थ आर्थिक–सामाजिक जीवनका लागि सबैभन्दा ठूलो बाधक  भएको बताए ।  यसले सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्बको सिर्जना, मानवअधिकारको हनन तथा अन्तर्राष्ट्रिय सम्मानमा कुठाराघात पार्ने हुँदा नियन्त्रण बाञ्छनीय रहेको बताए । 
००००
ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनकोसमेत गएराति मृत्यु भयो । 

उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
००००
काठमाडौँको गौशालास्थित एक होटलमा महिलाको हत्या र टोखाको एक टहरोमा युवकको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
००००
हत्या आरोपमा पुर्पक्षमा कारागारमा थुनामा रहेका पूर्व मन्त्री आफताब आलमको मुद्दामा रौतहट जिल्ला अदालतले जाहेरवाला घाइतेको शारीरिक परीक्षण प्रतिवेदन पेश गर्न आदेश गरेको छ । 

स्रेस्तेदार उद्धव ढोडारीका अनुसार १ नम्बर इजलाशका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको इजलासले आइतवार उक्त आदेश गरेको हो ।
००००
लुम्बिनीस्थित रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा लगाउने गरी भएको सम्झौता खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

रामग्राम क्षेत्रलाई संरक्षण तथा विकाससम्बन्धी अनुसन्धान तथा परियोजनाको आर्थिक स्रोतको खोजी गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्ड लिमिटेडबीच भएको सम्झौता खारेज गर्न समितिको बैठकले निर्देशन दिएको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइए–नलिइएकोबारे सरकारसँग प्रश्न गरेका छन् ।

सार्वजनिक जग्गा हिनामिनामा पक्राउ परेका  च्याम्पियन फूटवेयरका शेयर सदस्य अरुण चौधरीसरह शेयर रहेका विनोदसँग बयान किन नलिएको भनेर लामिछानेले प्रश्न गरेका हुन् । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्त कुँवर समेत उपस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा लामिछानेले चौधरीसँग बयान लिए–नलिएकोबारे प्रश्न गरे ।
००००
एक वर्षको अवधिमा नेपालबाट ४५९ विदेशी नागरिकलाई  निष्कासन गरिएको छ । अध्यागमन विभागले सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई विभिन्न कारणले नेपालबाट निष्कासन गरिएको जानकारी दिएको हो । 

विभागका महानिर्देशक रुद्रसिंह तामाङले  सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काइएको पनि जानकारी दिए ।
००००
नेपाल पत्रकार महासंघको संस्थापक को भन्ने विवादले उघ्र रुप लिएपछि महासंघका पूर्व सभापतिको बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रम बिथोलिएको छ ।

महासंघको प्रदेश प्रतिष्ठान शाखाले प्रकाशन गरेको पुस्तक ‘अग्र अनुहार’ विमोचन कार्यक्रममा जनजाति पत्रकार संघले हस्तक्षेप गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्