
कोशी प्रदेशका तीन जिल्लाका शैक्षिक संस्थाहरूमा चन्दा असुली गर्ने दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । झापा ,मोरङ र सुनसरीमा अर्धभूमिगत भएर स्कूल र कलेजहरूमा चन्दा असुलीका लागि नक्कली बम राखेर आंतक मच्चाइरहेको समूहका कार्यकर्तालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
‘जनयुद्ध दिवस’कै दिन विराटनगरको एक कलेजमा बम राखेर आतंकित पार्ने योजना बनाइरहेका नेकपा (माओवादी)का कार्यकर्ता रहेको बताउने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । शैक्षिक संस्थामा चन्दाआतंक सिर्जना गर्ने र नदिए विस्फोटक पदार्थ राखेर ध्वांसात्मक गतिविधि गर्ने गिरोहलाई सोमवार समातिएको मोरङ प्रहरीले जनाएको छ ।
भूमिगत संगठनको नाममा चन्दा असुल्ने गिरोहका सदस्यमध्ये दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इलाम माम्सेबुङ गाउँपालिका– १ गजुरमुखी घर भइ काठमाडौंस्थित भीमसेनगोला डेरा गरी बस्ने ३८ वर्षका प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका– १ का ३० वर्षका विपिन अधिकारी रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।
पक्राउ परेकाको साथबाट शैक्षिक संस्थामा चन्दा माग्न लेखिएको पत्र, नगद रसिद र लेटर फ्याट पनि बरामद भएको उनले बताए ।
यसैबीच मोरङ प्रहरीले उनीहरूलाई मंगलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेकाहरू नेकपा माओवादी (विप्लव), नेकपा माओवादी वैद्य नेकपा माओवादी (बहुमत)मा आबद्ध रहेको खुलेको छ ।
मंगलबार बिहान विराटनगर–३ मा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको थियो । डिस्पोज गरिएको शंकास्पद बस्तु कुकर बम भएको पुष्टि भएको छ ।
सो घटनामा पनि उनीहरूको संलग्नता रहेको एसपी पोखरेलले बताए । प्रहरीले उनीहरूको साथबाट विस्फोटक पदार्थ बनाउने सामग्री सातवटा डेटोनेटर, १८ फिट तीन इन्च लम्बाइको तार, एक केजी सोडा पनि बरामद गरेको छ । चन्दा नदिए ध्वांसात्मक कार्य समेत गरिने भन्ने सूचनाका आधारमा पक्राउ गरिएको एसपी पोखरेलले बताए ।
पक्राउ परेका दुवै जनाविरुद्ध विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । मिश्र र अधिकारी आपराधिक पृष्ठभूमिका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । एसपी पोखरेलका अनुसार मिश्रविरुद्ध झापामा २०७६ सालमा विस्फोटक पदार्थसम्बन्धी चारवटा मुद्दा चलेको पाइएको छ । अधिकारीविरुद्ध पाँचथरमा २०७६ मा अभद्र व्यवहार मुद्दा चलेको उनले बताए । पछिल्लो समय नयाँ भूमिगत सङ्गठनमा आबद्ध भएर चन्दा आतंक मच्चाइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई विराटनगर र बूढीगंगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राति नै विस्फोटक पदार्थहरू सम्भावित ठाउँमा राखेर तर्साउने र चन्दा संकलन गर्ने उद्देश्य देखिएका प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका व्यक्तिहरू विगतमा उनीहरू नेकपा माओवादी (विप्लव), नेकपा माओवादी वैद्य र केही व्यक्ति नेकपा माओवादी (बहुमत) आबद्धता रहेका थिए । ‘उनीहरूले २०८० सालपछि नेकपा (माओवादी)मा महावीरको नेतृत्वको नयाँ सङ्गठन विस्तार गर्न खोजेको देखिन्छ,’ एसपी पोखरेलले भने, ‘महाधिवेशनका लागि ३५ सदस्यीय केन्द्रीय समिति तयार भएको पनि देखिएको छ ।’ तर सो पार्टीको जिल्लास्तरमा सङ्गठन नै प्रहरीको दाबी छ । त्रास देखाउँदै चन्दा आतंक मच्चाउने अरूको पनि खोजी कार्यलाई तीव्र बनाएको एसपी पोखरेलले बताए । समूहको कनेक्सनको खोजी भइरहेको पनि उनले जानकारी दिए ।
उनका अनुसार महासचिव महावीरको दस्तखत रहेको र नेकपा (माओवादी) लेखिएको ‘लेटर प्याड’ प्रयोग गरेर भूमिगत सङ्गठनका नाममा शैक्षिक संस्थाबाट चन्दा असुल्ने गरिएको पत्ता लागेको छ । गत भदौमा खडा गरिएको यो समूहमा अन्य दल छाडेका तथा अयोग्य र असन्तुष्ट लडाकुलाई समेत समेट्ने प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ । विद्यालयको स्तर र हैसियत हेरेर चन्दा माग गर्ने गरिएको प्रहरीको भनाइ छ ।
विराटनगर–३ मा भेटिएको शंकास्पद वस्तु ‘प्रेसर कुकर’ बम रहेको पुष्टि भएको छ । उक्त बम मोरङको थाहास्थित नेपाली सेनाको भैरव गणबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयबाट लगभग २०० मिटर पश्चिममा आँपको रुख रहेको चउरमा सोमवार साँझ अन्दाजी दुई लिटरको प्रेसर कुकरमा टेपले बाँधेर बिजुलीको तार जडान गरी राखिएको शंकास्पद वस्तु फेला परेको थियो । घटनास्थललाई रातभर प्रहरीले सुरक्षा दिएर राखेको थियो ।