२९ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

दुर्गा प्रसाईंलाई पार्टीमा भित्र्याउन राप्रपाको पहलदेखि बालेनको आक्रोशसम्म

फागुन २, २०८०
काठमाडौं
दुर्गा प्रसाईंलाई पार्टीमा भित्र्याउन राप्रपाको पहलदेखि बालेनको आक्रोशसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ । 
राप्रपाले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई पार्टीमा भित्र्याउनका लागि पहल थालेको छ । त्यसका लागि राप्रपाले एक वार्ता समिति नै गठन गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिमा उपाध्यक्ष हेमजंग गुरुङ र महामन्त्री धवलशमशेर राणा रहेका छन् । समितिमार्फत प्रसाईंसँग वार्ता हुने र मिलेर जान पहल हुने बताइएको छ । 
००००
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह कार्यपालिकाको बैठकलाई लिएर आक्रोशित बनेका छन् । कार्यपालिका बैठकमा शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई कारबाही प्रक्रिया अघि बढाउने प्रस्ताव लगेका बालेन सो प्रस्ताव पारित हुन नसकेपछि आक्रोशित भएका हुन् ।

बैठकमा सदस्यहरुले कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गरेपछि लामो समय बादविवाद भएको थियो । अन्ततः आफ्नो प्रस्ताव पारित नहुने देखेपछि शाहले सुशासन समितिमा प्रस्ताव पठाउने निर्णय गराएका छन् । 

आफ्नो प्रस्ताव पारित नभएपछि शाहले सामाजिक सञ्जालमार्फत वडाध्यक्षहरु पार्टीका कर्मचारीलाई जोगाउन लागिपरेको आरोप लगाएका छन् ।  
००००
पाल्पाको तिनाउ गाउँपालिकामा क्षमताभन्दा बढी यात्रु बोकेको यात्रुबहाक जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० जना पुगेको छ । ८ जनाको घटनास्थलमै मृत्यु भएकोमा २ जनाको उपचारका क्रममा ज्यान गएको हो । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जीप मंगलबार साँझ चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । १३ सिट क्षमताको जिपमा २७ जना यात्रु सवार थिए ।
००००
प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षको मंगलबारको निर्णयअनुसार कार्यालयले ७८ एसपीको सरुवा गरेको हो ।
००००
विशेष अदालतले  पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले  इजलासले थापासहितलाई  सफाइ दिएको हो ।
००००
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । 

साम्पाङले सामाजिक सञ्जालमार्फत आफूहरुबीच मंगलबार काठमाडौँमा भेटवार्ता भएको जानकारी गराएका छन् । बालेन केही नबोलेपनि साम्पाङले नयाँ पार्टी खोल्ने बारेमा बहस चलाउँदै आएका छन् । यस्तै दुई जनाबीच भेटवार्ता बाक्लिँदै आएको छ । गत निर्वाचनमा दुबै मेयरले लौरो चिह्नबाट चुनाव लडेका थिए । 
००००
नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र  उपलब्ध गराएको छ । सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्त  भएका थिए ।
००००
नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पेश भएको विधान मस्यौदामा छलफल गर्न २० वटा समूह गठन भएका छन् । 
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मस्यौदा पेश गरेपछि छलफलका लागि २० वटा समूह गठन भएको माओवादीले जनाएको छ । 
माओवादीका विधान अधिवेशनमा एक हजार दुई सय हाराहारी प्रतिनिधि सहभागी छन् । 

समूह बनेपछि प्रत्येकमा ५५ जनासम्म सदस्य हुने माओवादीले जनाएको छ । समूहमा भएको छलफलको निचोडलाई टोली नेताले बैठकमा प्रस्तुत गर्नेछन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफैं सक्रिय भइरहेको बताएका छन् । मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफैं सक्रिय भइरहेको बताएका हुन् ।
००००
रुबिना क्षेत्रीको कीर्तिमानी शतकको मद्दतमा नेपाली महिला टोलीले माल्दिभ्सको महिला टोलीलाई २१४ रनले पराजित गरेको छ ।
मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले दिएको २२८ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमा अलआउट भयो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को विन्दुमा कायम भएको छ ।
मंगलबार तीन सय पाँच कम्पनीका एक करोड २१ लाख ६५ हजार दुई सय दुई कित्ता शेयर ८२ हजार आठ सय ९९ पटक खरिद बिक्री भएका छन् ।
 

कमेन्ट गर्नुहोस्