
विदेशमा सुनका गहना पठाउने भन्दै ७ करोड ७७ लाख रुपैयाँ ठगेको आरोपमा ४ जना पक्राउ परेका छन् । उनीहरूलाई नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले हालै पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–३ का ३३ वर्षीय कुमार थापा, स्याङ्जाको पुतलीबजार नगरपालिका–४ की ४२ वर्षीया मिना दमै, सिन्धुली गोलन्जोर गाउँपालिका–४ खनियाँखर्कका वर्ष ४३ का रवीनकुमार थापा र सप्तरी नगरपालिका–६ बोहोचेका ३९ वर्षीय दिलीपकुमार लाभ छन् ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार कुमारलाई २ करोड रुपैयाँ ठगी गरेको आरोप छ । मिनाले ३ करोड ६५ लाख रुपैया बैकिङ कसूर र ठगी गरेको, रवीनकुमारले २ करोड ६० लाख रुपैयाँ र दिलीपकुमारले ११ लाख रुपैयाँ ठगी गरेको अरोपमा पक्राउ गरिएको हो ।
‘उनीहरूले पहिलो पटकमा १० लाख, दोस्रो पटकमा २० लाख र तेस्रो पटक ५० लाख रुपैयाँ बराबरको गहना किनेर विश्वास दिलाइ १ करोड ८० लाख रुपैयाँको चेक दिएर फरार भएका थिए,’ उनले भने ।
उनीहरूकै समूहका मानिस भक्तपुरको सुडालमा जग्गा बैना गरेको भन्दै एक व्यक्तिबाट २६ लाख रुपैयाँ लिएर फरार भएका थिए ।
यस्तै चितवनमा पनि जग्गा बैनाको बाहानामा विभिन्न व्यवसायीबाट १ करोड ३६ लाख रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध कास्की जिल्लामा २ वटा, चिनवनमा ४ वटा र काठमाडौंमा ३ वटा मुद्धा रहेका छन् ।