
नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीको चुनाव चिन्ह फेर्न सुझाव आएका छन् ।
विधान अधिवेशनमा बनाइएका २० समूहमध्येबाटै टोली नेताले रिपोर्टिङ गर्ने क्रममा पार्टीको गोलाकारभित्रको हँसिया हथौडा फेर्नुपर्ने सुझाव आएको एक प्रतिनिधिले जानकारी दिए ।
‘बुधवार दिउँसोबाट छलफल सकेका २० मध्येका समूहका नेताले संयुक्त बैठकमा सुझाव दिने क्रम शुरू भएको छ । यस क्रममा बुधवार ४ बजेसम्ममा समूह १५, २० र ७ का नेताले समूहको छलफलपछि हललाई रिपोर्टिङ गर्नुभएको छ’ ती प्रतिनिधिले लोकान्तरसँग भने, 'चुनाव चिन्ह भद्दा भयो । मतदान गर्न जनतालाई बुझाउन गाह्रो भयो । यसैले चुनाव चिन्ह फेरौं भन्ने प्रस्ताव पनि आएका छन् ।’
शहरी मतदातालाई प्रभाव पार्न गाह्रो भएको भन्दै पार्टीको नाम पनि नेकपा समाजवादी या यस्तै हुने गरी राख्नुपर्ने सुझाव आएको ती प्रतिनिधिले जानकारी दिए ।
२० वटै समूहका टोली नेतालाई समूहको सुझाव पेश गर्न १०/१० मिनेटको समय दिइएको छ ।
यी सबै रिपोर्टिङ सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिएपछि बिहीवार साँझसम्ममा विधान अधिवेशन सकाउने तयारी माओवादीको छ ।
अधिवेशनमा केन्द्रीय कमिटी छरितो हुने गरी बढीमा १५१ सदस्यीय बनाउन, बहुपदमा जाने भए स्थायी कमिटी राख्न नहुने सुझाव आएको जानकारी अर्का प्रतिनिधि हरि दाहालले लोकान्तरलाई दिए ।