३० जेठ २०८३, शनिबार

आर्थिक स्रोत जुटाउन विद्यालयमा सामूहिक व्रतबन्ध

फागुन ३, २०८०
नुवाकोट
आर्थिक स्रोत जुटाउन विद्यालयमा सामूहिक व्रतबन्ध

सनातन हिन्दू संस्कारको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्न नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा सञ्चालित सहिद जगतप्रकाशजङ्ग शाह संस्कृति माध्यमिक विद्यालयमा ८५  बटुकको सामूहिक व्रतबन्ध गरिएको छ । विद्यालय सञ्चालनको लागिसमेत आर्थिक स्रोत जुटाउन  वसन्त पञ्चमीका अवसरमा आयोजित सामूहिक व्रतबन्धबाट पाँच लाख सङ्कलन गरिएको छ ।

सामूहिक व्रतबन्धमा सहभागी बटुकबाट विद्यालयले प्रतिबटुक छ हजार सेवा शुल्क लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोलले जानकारी दिए । उनका अनुसार बटुकसँग लिएको शुल्क र सङ्कलित भेटीबाट निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइन्छ ।

'न्यूनतम शुल्कमा पूर्ण धार्मिक विधिअनुसार बटुकलाई चाहिने पोसाक र भोजनसमेत उपलब्ध गराइएको छ,' अध्यक्ष डङ्गोलले भने, 'अभिभावकलाई आर्थिक भार कम गराउन र सामूहिक भावनाको विकासमा समेत सहयोग पुर्याएको छ ।'

विद्यालय सञ्चालनको लागि वैकल्पिक स्रोतको खोजीको लागि हरेक वर्षजस्तै यस वर्ष पनि वसन्त पञ्चमीको अवसरमा सामूहिक व्रतबन्ध गरिएको प्रधानध्यापक मञ्जु चित्रकारले जानकारी दिइन् । उनका अनुसार अभियानले समाजमा हुने भड्किलो परम्परा नियन्त्रण गर्न र हिन्दू संस्कृतिको रक्षा गर्न उल्लेख्य योगदान पुगेको छ ।

सामूहिक व्रतबन्ध गर्न नुवाकोटसहित रसुवा, धादिङ, चितवन, गोरखालगायतका जिल्लाबाट बटुकको सहभागिता रहेको थियो । बटुकको व्रतबन्धमा सोही विद्यालयका पण्डित गोकुल सापकोटाको नेतृत्वमा रहेको १४ जना पण्डित–विद्यार्थीको सहभागिता रहेको थियो ।
 
विसंं २०५५ मा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा दशसम्म अध्यापन हुने गरेको छ । विद्यालयले निःशुल्क आवासीय सुविधासहित संस्कृत भाषाको अध्यापन गराउन आर्थिक स्रोतको अभाव भएसँगै हिन्दू धर्मावलम्बीको पर्व नाग टाँस्न, रक्षा बन्धन गराउन, घरघरमा कुस भित्र्याउन, पितृ तर्पणलगायतका गतिविधिमा विद्यालयका  शिक्षक–विद्यार्थीमार्फत सेवा दिएर आर्थिक स्रोत जुटाइने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्