
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अमेरिका पठाइदिने भन्दै ३ महिनादेखि बन्धक बनाइएका ३० जनाभन्दा धेरैलाई नेपाल प्रहरीले उद्धार गरेको छ ।
स्थानीयको सूचनाका आधारमा बुधवार काठमाडौं प्रहरीले उनीहरूलाई उद्धार गरेको हो । उद्धार भएका धेरैजसो भारतीय भएको बताइएको छ ।
००००
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दाको फैसला बिहीवार आउने भएको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार बुधवार नै फैसला सुनाउने तयारी गरिएको भए पनि अबेर भएकाले मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।
०००००
नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा प्रतिनिधिहरूले पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ ।
आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले प्रदेशलाई थप अधिकार दिनुपर्ने सुझाव पेश गर्नुपर्ने सुझाव दिए । यस्तै अन्य केही समूहबाट पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने पनि सुझाव दिइएको छ ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस रत्ननगर नगरकमिटिले आयोजना गरेको बृहत् वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी भनेकै घर भएको उल्लेख गरे ।
००००
उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित नेकपा (एमाले)को टोलीले बुधवार सिंहदरबारमा मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
मध्यपहाडी सङ्कल्प यात्राका क्रममा तयार भएको र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र कार्यान्वयनका लागि अनुगमनको सिलसिलामा उनीहरूसँग छलफल भएको उपाध्यक्ष पौडेलले जानकारी दिएका छन् ।
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडिकल खोल्न गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताएका छन् ।
००००
चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा देशभर संचालन भएको समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत कुल २० लाख ६२ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर ४९ हजार ३२६ वटा सामुदायिक कार्यक्रमहरू सञ्चालन भएका थिए ।
००००
राजसंस्था र हिन्दूराष्ट्र फर्काउने अभियानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन सम्झौताको बाटोबाट देशलाई अघि बढाउन व्यापक जनदबाबको सिर्जना गर्ने उद्घोष गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बुधवार साँझ सामाजिक सञ्जालमार्फत अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प खोजिने उद्घोष गरेका हुन् ।
यसैबीच राप्रपाले दुर्गा प्रसाईंसँग एकताको पहल गरेको भएपनि उनले अस्वीकार गरेका छन् । प्रसाईंले राप्रपासँग एकतामात्रै होइन आफ्ना आन्दोलनमा राप्रपालाई सहभागी समेत नगराउने बताएका छन् ।
००००
नेपाली कांग्रेसले फागुन ७ गतेदेखि शुरू हुन लागेको महासमिति बैठकमा प्रस्तुत हुने ५६ पृष्ठको नीति प्रस्ताव तयार भएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्ने राजनीतिक, आर्थिक, सामाजिकसहितका गतिविधिसहितका विषय समेटिएको प्रस्ताव तयार भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
००००
सरकारले आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । २०८१ सालको सार्वजनिक र पर्व बिदाहरूको सूची बुधवार गृह मन्त्रालयले सार्वजनिक गरेको हो ।
वर्षभरि हुने ५३ शनिवारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरिएको गृहले जनाएको छ ।
००००
विदेशमा सुनका गहना पठाउने भन्दै ७ करोड ७७ लाख रुपैयाँ ठगेको आरोपमा ४ जना पक्राउ परेका छन् । उनीहरूलाई नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले हालै पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–३ का ३३ वर्षीय कुमार थापा, स्याङ्जाको पुतलीबजार नगरपालिका–४ की ४२ वर्षीया मिना दमै, सिन्धुली गोलन्जोर गाउँपालिका–४ खनियाँखर्कका वर्ष ४३ का रवीनकुमार थापा र सप्तरी नगरपालिका–६ बोहोचेका ३९ वर्षीय दिलीपकुमार लाभ छन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरेका छन् । त्यस अवसरमा उनले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गरे ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि भएको छ ।
बुधबार नेप्से परिसूचक ५ दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो ।