
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाजमा डरलाग्दो ढंगले विश्वासको संकट देखिएको भन्दै सस्तो नारा, आवेग र स्टन्टवाद चलेको बताएका छन् ।
फागुन ७ गतेदेखि चल्ने महासमिति बैठकको लागि तयार गरेको समसामयिक राजनीतिक प्रस्तावमा शर्माले नागरिकमा असन्तुष्टि देखिएपछि आवेग र स्टन्टवाद बिक्न थालेको बताएका हुन् ।
‘विश्वव्यापी रुपमै के देखिएको छ भने जहाँ नागरिक पंक्तिमा असन्तुष्टि छ त्यहाँ संयम, प्रेम, विश्वास, संघर्ष, त्याग र आदर्श भन्दा सस्तो नारा, आवेग र ’स्टन्टवाद’ चल्छ र बिक्छ । तर तत्काल बिक्नु र लामो समय टिक्नुको बीचमा फरक हुन्छ’, असन्तुष्टिको कच्चापदार्थमा पपुलिजमको खेती शीर्षकमा शर्माले लेखेका छन्, ‘दुरदर्शी भिजन र कमान्ड भएको नेतृत्वले संयमतापूर्वक स्थितिलाई सम्हाल्ने कर्तव्य निभाउन सक्दछ । हाम्रो समाज र राजनीतिमा देखिएको चित्रले हामीलाई घच्घच्याएको छ भने समाजले परिपक्व हल खोजेको छ ।’
गत निर्वाचनबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीसहित स्वतन्त्रका जनप्रतिनिधितर्फ लक्षित गर्दै शर्माले यस्तो बताएका हुन् ।
आफूलाई बाहेक अरूलाई विश्वास नगर्ने प्रवृत्तिले समाजलाई घोर निराशातर्फ डोहोर्याएको शर्माको प्रस्तावमा उल्लेख छ ।
‘आज समाजमा डरलाग्दो ढंगले विश्वासको संकट देखिएको छ । व्यक्तिप्रति अविश्वास, परिवारमा अविश्वास, वित्तीय संस्था होस् या प्रहरी प्रशासन, राजनैतिक दल हुन् या न्यायालय सबैप्रति अविश्वास गरेर आफूलाई बाहेक अरूलाई विश्वास नगर्ने प्रवृत्तिले समाजलाई घोर निराशामा पुर्याउन सक्छ’ प्रस्तावमा भनिएको छ, ‘अझ त्यो निराशामा मलजल गरेर राजनीतिको फसल काट्ने प्रवृत्ति झनै घातक छ ।’
नागरिकका देखिएको संवेग कमी र आवेगको वेगलाई सम्बोधन गर्न लाग्नुपर्ने उनले बताएका छन् । निराशालाई आशामा बदल्नुपर्ने दायित्व दलहरूको भएको शर्माको भनाइ छ ।
नागरिकमा आशा र उत्साह जगाउन कांग्रेसले १५ वर्षमा नेपाल र नेपालीको अवस्था कसरी भिन्न हुन्छ भनेर राज्यप्रणालीको बदलिँदो चित्र प्रस्तुत गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।
शर्माले उग्र राष्ट्रवादले बाह्य लगानीको वातावरणलाई असर पारेको भन्दै समाज र राजनीति दुवै गम्भीर बन्नुपर्ने बताएका छन् ।
सुझावको लागि शर्माले यो प्रस्ताव पार्टी केन्द्रीय समिति बैठकमा पेश गरेका छन् ।