
मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझी छिन् ।
५५ वर्षीय महिलालाई कुटपिटका साथै यातना दिएर दिसा–पिसाब खुवाएर अमानवीय व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेकी माझीले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको पाइएको उनले बताए ।
प्रहरीका अनुसार धामी झाँक्री भएर झारफुकको काम गर्ने माझीको घरमा लगाइएको पूजामा प्रयोग गरिएको दियो हराएको थियो । पूजाको दियो चोरी गरेको आरोप उनले ती महिलालाई लगाएकी थिइन् ।
पूजाको दियो हराएपछि चोरी गरेको भनेर बोक्सीको आरोप लगाउँदै उनले महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए ।
डीएसपी दाहालका अनुसार जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।
‘यस्तो काम बोक्सीबाहेक अरूले गर्नै सक्दैन । दियो चोरेर मेरो घरमा लगाएको पूजा भाँड्ने काम गरियो’, उनले प्रहरीलाई दिएको बयानमा भनिएको छ । माझीले लछारपछार पारेर कुटपिट गर्दै यातना दिएर पीडितलाई मलमूत्र खुवाएको डीएसपी दाहालले जानकारी दिए ।
त्यसक्रममा पीडितले आफू बोक्सी नभएको र आफूले दियोसमेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटक-पटक आग्रह गरेकी प्रहरीको भनाइ छ ।
तर माझीले भने आफ्नो घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेर दियो चोरेको भन्दै अमानवीय व्यवहार गरेकी थिइन् । धामी झाँक्रीको काम गर्दै आएकी माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको दाहालको बताए ।
उनीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।
अनुसन्धानका लागि अदालतबाट शुक्रवार म्याद थप गरिने डीएसपी दाहालले बताए ।