नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले देशमा देखिएका समस्याको समाधान पार्टीलेले दिन सक्छ भनेर महासमितिबाट प्रभावकारी भिजन देखाउन सक्नुपर्ने बताएका छन् ।
महासमितिमा प्रस्तुत हुने नीति, सांगठनिक, समसामयिक राजनीतिक र आर्थिक प्रस्तावमा सुझाव दिँदै नागरिकसँग जोडिएका सरोकारका विषयमा कांग्रेसले महासमितिबाट प्रभावकारी भिजन दिन सक्नुपर्ने बताएका हुन् ।
‘२०४८ देखि, शैक्षिक, आर्थिक, स्वास्थ्यसहितका सबै नीति कांग्रेसले बनाएको हो । तर आजका दिनसम्म आइपुग्दा यी नीतिलाई रिभ्यु गर्नुपर्ने अवस्था आएको छ । किनकि, किसानका मुद्दा, युवा पलायनको मुद्दा, रोजगारमूलक शिक्षा र सुलभ स्वास्थ्य पहुँचका मुद्दा यतिखेर मुख्य हुन्,’ हुमागाईंले बैठकमा भने, ‘यसैले अत्यन्तै गम्भीर भएर महासमिति सक्दा सबै नीतिमा कांग्रेसले कांग्रेसले मात्रै समाधान दिन सक्छ भनेर महासमितिले एउटा प्रभावकारी भिजन देखाउन सक्नुपर्छ ।’
बैठकमा लागि तयार भएका प्रस्तावहरूमा मेहनत गरेर आए पनि समस्या समाधानमा प्रभावकारी सूत्र दिन नसकेको उनले बताए ।
‘साथीहरूले मेहनत गरेर राम्रो प्रस्ताव तयार गर्नुभएको छ । समस्याको डाइग्नोसिस पनि भएको छ । तर समाधान के हुन सक्छन् भनेर विषय आएका छैनन् । २०५१ सालमा एमालेको सरकारले उत्पादनलाई प्राथमिकता नदिएर वितरणलाई प्राथमिकता मात्रै दियो । त्यही बेलादेखि हामी वितरणमुखी मात्रै भयो,’ हुमागाईंले भने, ‘तर अब सधैँ यसरी चल्दैन, हुँदैन । हामीले उत्पादनलाई प्राथमिकता दिएनौं । उत्पादनलाई प्राथमिकता नदिएसम्म देश कहिल्यै बन्दैन ।’