
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ को सीमा क्षेत्रमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको ठाडो सुरुङ र तेस्रो सुरुङ ब्रेकथ्रु भएको छ ।
इन्टेकबाट सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युत्गृहमा खसाल्न हेडरेस्ट आउटलेटतर्फ खनिएको एक सय तीन मिटर लामो ठाडो सुरुङ र विद्युत्गृहतर्फबाट खनिएको चार सय ९५ मिटर लामो तेस्रो सुरुङ जोडिने कार्य सम्पन्न भएको आयोजना प्रमुख रवीन्द्र हमालले जानकारी दिए । संयुक्त ऊर्जा लिमिटेडले २०७८ मङ्सिरदेखि निर्माण सुरु गरेको उक्त आयोजनाको दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ गत मङ्सिरमा नै जोडिएको थियो । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर÷त्रिपल एस जेभीले सहायक ठेकेदार कम्पनी रोकाया कन्ट्रक्सन प्रालिलाई आवश्यक जनशक्ति र मेसिन उपकरणसहित परिचालन गरेकाले आयोजनाको सबै सुरुङ खन्ने काम सकिएको उनले बताए ।
सो आयोजनाको विद्युत्गृहतर्फ ९० प्रतिशत काम सकिएको छ भने हेडबक्सतर्फ ७० प्रतिशत काम सकिएको छ ।