
रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन् । रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५ लाख ५० उपलब्ध गराएका हुन् । सो रकमले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।
एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ । कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए ।
विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने उनले बताए ।
एम्बुलेन्स खरिदका लागि हङकङमा रहेका याम सेम्बु एक्लैले पाँच लाख ३० हजार उपलब्ध गराएका थिए । उनीसहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा उक्त रकम सङ्कलन भएको हो ।
स्थानीय मीना खवासले वडामा एम्बुलेन्स सञ्चालनमा आएकामा खुसी व्यक्त गरे ।