
सहकारीका बचतकर्ताको एक अर्ब बढी रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ पक्राउ परेका छन् ।
बचतकर्ताको उजुरीपछि सहकारीका अध्यक्ष गुरुङलाई बिहीबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । गुरुङलाई बुटवलबाटै पक्राउ गरिएको हो ।
उनीसँगै सहकारीको भैरहवा शाखाका व्यवस्थापकलाई पनि प्रहरीले पक्राउ गरेको छ । भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई शुक्रबार पक्राउ गरिएको उनले बताए । उनीहरूलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जीबी) राई हुन् । संस्थापक अध्यक्ष एवं संरक्षक जिबी राई सम्पर्कविहीन छन् ।
रुपन्देहीलगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताको एक अर्ब बढी रुपैयाँ हिनामिना भएको भन्दै प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी परेको छ ।