
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् ।
वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा शनिवार आयोजित वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
'अहिलेको विश्व जलवायु परिवर्तनलगायतका वातावरणीय चुनौतीहरूको शिखरमा उभिएको छ, त्यसबाट नेपाल पनि अछुतो छैन । वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र गहिरो अभिरुचिसमेत बढिरहेको छ', उनले भने ।
उनले मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता अनि वन्यजन्तु संरक्षण प्रत्यक्ष रूपमा जोडिएको बताए । 'त्यसमा पनि नेपालमा पाइने बाघ, गैँडा, हात्ती, हिउँ चितुवाजस्ता ठूला वन्यजन्तुदेखि स–साना वन्यजन्तुसम्मले परिस्थितिकीय प्रणाली सन्तुलनमा खेल्ने भूमिकाबारे हामी जानकार छौं, तर यससम्बन्धी आम जनचेतनाको स्तर के कस्तो छ, त्यसले महत्वपूर्ण भूमिका खेल्छ', उनले भने ।
वन्यजन्तुबारे कुरा गरिरहँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व, वन्यजन्तुको चोरीशिकारी, अवैध व्यापारजस्ता वन्यजन्तु अपराधका घटनाहरू र यसको द्वन्द्व व्यवस्थापन, अपराध नियन्त्रण तथा संरक्षणका विद्यमान मुद्दाहरूलाई यथोचित प्रभावकारी रुपमा सम्बोधन कसरी गर्ने भनेर सोच्नुपर्ने आवश्यकता राष्ट्रपति पौडेलले औंल्याए ।
उनले वन्यजन्तु संरक्षणको फलस्वरुप तिनको बढ्दो संख्याले निम्त्याएको उचित व्यवस्थापन, वन्यजन्तुमैत्री भौतिक पूर्वाधारको व्यवस्था, राष्ट्रिय क्षमता विकास, क्रियाशील राज्यका संयन्त्रहरू आदिको आवश्यकताले विशेष रूपमा वन्यजन्तु लक्षित कार्यक्रमहरूको अपरिहार्यता र कार्यान्वयनको पाटोलाई जोड दिनुपर्ने बताए ।
'वन्यजन्तु संरक्षण कार्यक्रमलाई जनसहभागिता र समुदायमा आधारित रहेर विशेष जोड दिई थालिएका कार्यहरू कत्तिको दूरदर्शि र दूरगामी सकारात्मक प्रभाव पार्न सक्ने खालका छन् भन्ने कुरा प्रमाणित गर्नसक्नु सरकारका माझ अहिलेको समय अवसरका रुपमा देखा परेको मैले ठानेको छु', राष्ट्रपति पौडेलले भने ।