
अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताएका छन् । बीपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा शनिवार काठमाडौंमा आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक विचारगोष्ठीमा मन्त्री डा महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गरे ।
‘मुलुकमा लोकतन्त्र स्थापना अगाडि राजनीतिकेन्द्रित बहस हुने गरेको थियो । तर संविधान निर्माणपछि आर्थिक क्षेत्रमा पनि बहस हुन थालेको छ,’ उनले भने, ‘आर्थिक रुपान्तरणको सुदृढ पक्ष कृषि हो । कृषिमा रुपान्तरणकारी परिवर्तन ल्याउन लगानीअनुरुपका प्रतिफल ल्याउने खोजी हुनुपर्छ । कृषिमा आत्मनिर्भर हुन जरुरी छ ।’
मन्त्री डा महतले आधुनिक प्रविधिअनुरुप व्यावसायिक खेती गरी उत्पादकत्व बढाउन आवश्यक रहेको उल्लेख गर्दै भौगोलिकताका आधारमा कृषियोग्य जमिनको पहिचान गरी कृषि क्षेत्रको औचित्य पुष्टि गर्न आवश्यक रहेको बताए ।
ऊर्जा, पर्यटन, कृषि, प्रविधि मुलुकको आर्थिक रुपान्तरणको बलियो आधार खम्बा रहेको बताउँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन यी चार खम्बाको महत्त्वपूर्ण भूमिका रहने मन्त्री डा महतको भनाइ थियो ।
प्रजातान्त्रिक समाजवादमा निजी क्षेत्रलाई उत्पादनको नेतृत्व प्रदान गरी न्यायोचित वितरणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रलाई सुदृढीकरण गर्न सरकारले सहजीकरण, सबलीकरण गर्ने बताए ।