
नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनअन्तर्गत अध्यक्ष पदका उम्मेदवार यज्ञराज ढुंगानाले आफू बलियो उम्मेदवार भएको दाबी गरेका छन् । प्रतिनिधिहरूले नयाँ नेतृत्व खोजेको भन्दै ढुंगानाले भारी मतका साथ निर्वाचित हुने दाबी गरेका हुन् ।
‘प्रतिनिधिहरूले अहिलेका जिल्ला पदाधिकारीहरू बाहेकको नेतृत्व खोजेका छन् । मेरा पक्षमा माहोल राम्रो छ,' उनले भने, 'सके मेरै नाममा सहमति हुन्छ । नभए निर्वाचनमा पनि अत्यधिक मतका साथ निर्वाचित हुन्छु ।’
पूर्वप्रदेश सचिवालय सदस्यसमेत रहेका ढुंगानाले पार्टीभित्र पछिल्लो समय मौलाएको व्यक्तिवाद र गुटगत प्रवृत्तिलाई हटाउन आफ्नो उम्मेदवारी रहेको बताए । ‘पार्टी सञ्चालनको आन्तरिक जीवनलाई व्यवस्थित गर्न सदस्यता वितरण र नवीकरणमा कुनै भेदभाव नगर्ने, संस्थागत निर्णयका आधारमा पार्टी सञ्चालन गर्ने, जनजीविकाका समस्यालाई राजनीतिक ढङ्गले समाधान गर्ने मेरा मुख्य एजेन्डा छन्,’ ढुंगानाले भने ।
जनता र पार्टी कार्यकर्तामा व्यप्त राजनीतिप्रतिको वितृष्णा हटाउन पार्टीका जनप्रतिनिधिले आफूखुसी निर्णय गर्ने प्रवृत्ति रोक्न आवश्यक रहेको उनले बताए ।
यसअघि चुनावमा तीनै तहमा पार्टीले हार व्यहोर्नुपरेको स्मरण गर्दै गुमेको विरासत फर्काउन आफूले नै जित्न आवश्यक रहेको उनले दाबी गरे ।
कैलालीको मध्य क्षेत्र सुखडमा जारी नवौँ जिल्ला अधिवेशनबाट नेतृत्वका लागि ढुंगानासहित डेजी पाण्डे, दुर्गा जोशी र ममताप्रसाद चौधरीले दाबी गरेका छन् ।
ढुंगाना पूर्वप्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कार्यवाहक जिल्ला अध्यक्ष र पाण्डे सचिव हुन् । चौधरी पनि कैलाली जिल्ला उप–सचिव हुन् ।