
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी महासमिति बैठकमा आफ्नो सांगठनिक प्रस्ताव पेस गरेका छन् ।
पार्टी सभापति देउवासँग सोमवार करिब ६ घण्टा भएको छलफल निष्कर्षमा पुगेपछि महामन्त्री थापाले मंगलवार पेस गरेको प्रतिवेदन केही लचिलो बनेर आएको छ ।
सांगठनिक प्रस्तावमार्फत उनले भविष्यमा हुने आवधिक निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
गगनले अगाडि सारेको प्रस्तावमा पहिले अरू दलको चुनाव चिन्हमा मत हाल्दैनौं भन्ने थियो । तर अहिले महासमितिमा पेस भएको प्रतिवेदनमा रुख चिन्हमा मत हाल्न पाउने व्यवस्था गर्छौं भन्ने उल्लेख छ ।
पहिलेको : एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुपर्यो । गत निर्वाचनमा नेपाली कांग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ, गछौं। हाम्रो निर्वाचन प्रणालीको सीमाले गर्दा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि तालमेल गर्ने कुरा स्वभाविक हुनसक्छ । तर निर्वाचनपूर्वको गठबन्धन संस्कृति लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै हामी संकल्प गर्छौं कि- 'नेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचन पूर्व गठबन्धन (प्रिइलेक्सन एलायन्स) गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिन्हमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैनौं'।
अहिले : एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुपर्यो । गत निर्वाचनमा नेपाली कांग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी सचेत छौं। कुनै पनि दलले बहुमत प्राप्त नगरेको अबस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वभाविक हुनसक्छ। तर निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ- 'हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह 'रुख' मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं'।
हेर्नुहोस् गगन थापाको प्रस्तावको पूर्णपाठ