१९ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

कांग्रेसमा बढ्दै हिन्दुराष्ट्र पक्षधर, ओली–प्रचण्डबीच अर्थपूर्ण भेट

फागुन ९, २०८०
काठमाडौं
कांग्रेसमा बढ्दै हिन्दुराष्ट्र पक्षधर, ओली–प्रचण्डबीच अर्थपूर्ण भेट

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
एमालेको मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । 
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलका लागि नौ वटा समूह बनाइएको जानकारी दिए । आज बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने उनले बताए ।  
विभाग प्रमुख गौतमका अनुसार बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् ।
००००
मंगलबारको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीलाई ललिपप देखाएर सत्ता गठबन्धनका नेताले धूर्तखेल खेलेको आरोप लगाएका छन् । तर, आफूहरूले उनीहरूका सर्त अस्वीकार गरेको ओलीले बताए । 

ओलीले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई केही सिट दिने नाममा नाजायज तर्क राखेको बताएका हुन् ।
‘उहाँहरूले हामीलाई लालिपप देखाएर सिद्धान्त, नीति छाड्छौं भन्नेजस्तो धूर्त खेल देखाउनुभयो । प्रचण्ड, देउवाले बोलाएअनुसार गयौं, साक्षीको बिन्दुमा पुगेपछि नसकिने भन्नुभयो’ ओलीले भने, ‘कुनै पनि हालतमा गर्छौं भनेको कुरा अरु सहयोगीले मानेनन् भन्नेजस्तो कुरा राख्नुभयो । हामी आफ्ना नीति र दृष्टिकोणमा प्रष्ट थियौं ।’
ओलीले विरोधीले हल्ला फिँजाएजस्तो आफू नेतृत्वको सरकारको पालामा झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा सम्बन्धमा केही तलमाथि नभएको बताएका छन् । मंगलवार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले गिरिबन्धु टी स्टेटबारे किञ्चित चिन्ता नलिन केन्द्रीय सदस्यहरूलाई आग्रहसमेत गरे ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 
प्रधानमन्त्री निवास सिंहदरबारमा मंगलवार साँझ भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो । 
मंगलवार दिउँसो मात्र पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै प्रधानमन्त्री प्रचण्डको कडा आलोचना गरेका थिए । 

ओलीले आफैँले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका थिए । 
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गरेकै साँझ ओलीले उनैलाई बालुवाटार गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतै फेरि वाम गठबन्धनको खिचडी त पाकेको होइन ? भन्ने आशंका उब्जिएको छ ।
००००
नेपाली कांग्रेसले महासमिति बैठकमा पेश भएका प्रस्तावहरूमा सामूहिक छलफल गर्न चार वटा समूह बनाएको छ । बैठकमा मंगलबार पेश गरिएका प्रतिवेदनमा आजदेखि चारवटा हलहरूमा छलफल हुने भएको हो । 
चार वटा समूहको बैठक विभिन्न हलमा बस्नेछन् । गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोञ्ज्योसोम हलमा लुम्बीनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूको छलफल हुनेछ ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी महासमिति बैठकमा आफ्नो सांगठनिक प्रस्ताव पेस गरेका छन् ।
पार्टी सभापति देउवासँग सोमवार करिब ६ घण्टा भएको छलफल निष्कर्षमा पुगेपछि महामन्त्री थापाले मंगलवार पेस गरेको प्रतिवेदन केही लचिलो बनेर आएको छ ।
सांगठनिक प्रस्तावमार्फत उनले भविष्यमा हुने आवधिक निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
००००
सत्तारुढ दल नेपाली कांग्रेसमा हिन्दूराष्ट्रको माग गर्ने केन्द्रीय सदस्यको संख्या ३६ पुगेको छ ।
ललितपुरको गोदावरीमा मंगलवार जारी महासमिति बैठकमा ३६ जना केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् ।
यसअघि २२ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका थिए । महासमिति बैठकमा प्रस्ताव लानुअघि शंकर भण्डारीको नेतृत्वमा २२ जना केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेका हुन् ।
००००
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालन तथा स्थायित्वबारे हाल केही व्यक्ति–समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलवार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले केही दिनयता राष्ट्रिय स्तरको वाणिज्य बैंकमाथि भइरहेको चौतर्फी प्रहारको मुद्दामा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
००००
डान्सबार र रेस्टुरेन्टमा पुगेर मोजमस्ती गर्न, केटी लिएर घुम्न चोरीलाई पेशा बनाएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ का २२ वर्षीय लोकसिंह ठगुन्नालाई प्रहरीले फागुन ३ गते पक्राउ गरेर सार्वजनिक गरेको छ ।
उनले २०७५ सालदेखि चोरी गरेर काठमाडौं, पोखरा, नेपालगञ्जका ठूल्ठूला डान्सबार, दोहोरी साँझ र रेस्टुरेन्टमा मोजमस्ती गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
फ्लाइ दुबईको उडानमार्फत काठमाडौं आएका ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विशेष सूचनाको आधारमा सुनसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्