
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार भएको खेलमा घरेलु टोली नेपाल नामिबियासँग २ विकेटले पराजित भएको हो ।
यसअघि गत फागुन ३ गते भएकाे पहिलो खेलमा पनि नेपाल अफ्रिकी टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।
बुधवार नेपालले विशेषगरी ब्याटिङमा आवश्यक प्रदर्शन गर्न नसक्दा पराजित हुन पुग्यो ।
नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ८ विकेटको क्षतिमा ४० ओभरमै १७२ रन बनाएर पूरा गर्यो ।
नामिबियाका लागि गेर्हार्ड इरास्मसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५२ रन जोडे ।
यस्तै जेजे स्मिटले अविजित ३४ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३ तथा दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र ललित राजबंशीले १–१ विकेट लिए पनि यो जीतका लागि पर्याप्त भएन ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल नामिबियाविरुद्ध १६८ रन बनाएको अवस्थामा ३९ ओभरमै अलआउट भएको थियो ।
नामिबियाका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल १६९ रनको सामान्य लक्ष्य दिएको हो ।
पहिलो खेलमा पनि नेपालले टस हार्दै ब्याटिङ गर्दा १३३ रनको लक्ष्य दिँदा पराजित हुन पुगेको थियो ।
दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध शानदार ९ विकेटको जीत दर्ता गरे पनि तेस्रो खेलमा नेपाल फेरि कमजोर देखिएको हो ।

नेपालको लागि आशिफ शेखले अर्धशतकीय पारी खेल्दै ६४ बलमा सर्वाधिक ५८ रन बनाए ।
लगातार तीन विकेट गुमाउँदा नेपाल दबाबमा देखिएको थियो । कुशल मल्लले ३६ र भीम सार्कीले २६ रन बनाए । ओपनर कुशल भुर्तेलले १८ रन जोडे ।
नेपाललाई कम रनमा समेट्न नामिबियाका लागि बर्नाड स्कोल्टस्ले १० ओभरमा ३१ रन दिँदा ४ विकेट लिए ।
यस्तै जान लिकोनले ३ विकेट हात पारे ।
अब नेपालले आइतवार नेदरल्यान्ड्ससँग खेल्नेछ ।