![स्वर्गद्वारी गुठीपीडित किसान २४ घण्टे धर्नामा [तस्वीरहरू ]](https://lktcdn2.prixacdn.net/media/guthipidit_kisan_1_3dVG3My0sl.jpg)
स्वर्गद्वारी गुठीपीडित किसानहरूले मोहीअधिकार कार्यान्वयनको माग गर्दै आन्दोलन थालेका छन् । यसअघि दाङको घोराहीमा र्याली तथा सभा गरेका उनीहरूले बुधवार जिल्ला प्रशासन कार्यालयको गेटअगाडि धर्ना दिएका छन् ।
सरकारले स्वर्गद्वारी गुठीपीडित मोही किसानको माग सम्बोधन गर्न प्रयास नगरेकाले आफूहरूले चरणवद्धरुपमा आन्दोलन शुरू गरेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।

किसानहरूले गुठीपीडित मोही किसानको समस्या समाधान गर्न सरकारले विधेयक ल्याउने भनी आश्वासन दिए पनि हिउँदे अधिवेशन शुरू हुँदासमेत कुनै तयारी नभएको भन्दै आन्दोलनमा जानुपरेको उनको भनाइ छ ।
किसानहरूले माघ २५ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमअनुरुप फागुन ८ गते घोराही बजारमा र्याली तथा सभा गर्ने तथा फागुन ९ गतेदेखि ११ गतेसम्म जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय दाङमा २४ सै घण्टा धर्ना दिने कार्यक्रम छन् । यसैअनरुप उनीहरू बुधवार धर्नामा बसेका हुन् ।

यस्तै फागुन १३ गतेदेखि १५ गतेसम्म र्यालीसहित राजनीतिक पार्टीका कार्यालयमा धर्ना बस्ने, फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेशसभामा र्यालीसहित धर्ना र पूर्व–पश्चिम राजमार्ग दुई घण्टा सुतेर सडक बन्द गर्ने कार्यक्रम रहेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका सचिव भरतराज गिरीले जानकारी दिए ।
सार्वजनिक आन्दोलनका कार्यक्रमअनुसार फागुन २७ र २८ गते घोराहीमा देशभरका गुठीपीडित किसानको सम्मेलन आयोजना गर्ने, दाङ गुठीपीडित घोषणापत्र जारी गर्ने र चैत १ गतेदेखि दाङ बन्द वा काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तय भएको छ ।

किसानहरूले पुस्तौंदेखि गुठी जमिन जोत्दै आएका दर्तावाल वा बेदर्तावाल ठेककुत बुझाए पनि मोही नजनाइएको जग्गा मोही किसानका नाममा कम्तीमा ७५ प्रतिशत रैकर सरह दर्ता गरी जग्गाको लालपूर्जा दिनुपर्ने र बाँकी २५ प्रतिशत जमिन पनि सरकारी दररेटमा किस्ताबन्दीमा मोही किसानलाई नै किन्न दिनुपर्ने माग उठाएका छन् ।
यसैगरी गुठी जमिन कमाइ आएका मोही किसानले बुझाउनुपर्ने जिन्सी वा भुक्तानी गर्न बाँकी कुतको हालसम्मको कूल लगत निकाली ८० प्रतिशत छुट दिने व्यवस्था मिलाउनुपर्ने माग उनीहरूको छ ।

त्यस्तै विभिन्न बहानामा मोही निष्काशन गरिएकोप्रति उनीहरूले आवाज उठाएका छन् । कुतबाली बुझाइ आएका किसानलाई मोही पुनर्वहाली गरी मोहीसरह जमिन दिनुपर्ने पनि उनीहरूले माग राखेका छन् ।
गुठीका नाममा देखिएका, किसानले जोतभोग गर्दै आएका तर मोही नलागेका जमिन उनीहरूकै नाममा दर्ता गर्नुपर्ने र १ नम्बर लगतमा समावेश भएका सम्पूर्ण किसानलाई मोही सरहको मान्यता दिनुपर्ने आन्दोलनकारीको माग छ ।
साथै मोहीका नाममा जग्गा दर्ता गर्दा प्राप्त हुने राजश्वको स्थायी कोष बनाएर प्राप्त आम्दानीले स्वर्गद्वारी आश्रमको व्यवस्थापन गर्नुपर्ने पनि किसानले माग राखेका छन् । स्वर्गद्वारी गुठीअन्तर्गत दाङमा लमही, घोराही र तुलसीपुरमा गरी १२ मौजा रहेको र उक्त जमिन पुस्तौंदेखि जोतभोग गर्दै आएका तीन हजार घरधुरीका १५ हजार किसानलाई मोही प्रमाण छ ।