
हाल अमेरिकामा रहेकी अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् ।
रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि यही फागुन २५ गतेबाट उनको फिल्म ‘उपहार’ प्रदर्शनमा आउँदैछ । अमेरिकामै बसेर रेखाले फिल्मको प्रचारप्रसार गरिरहेकी छन् । पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् ।
रेखाको बुझाईमा ‘उपहार’ अमूल्य विषय हो । फिल्म दर्शकको मन मस्तिष्कमा बस्ने गरी लेखिएको र बनाइएको रेखा बताउँछिन् । उनले भनिन् ‘नेपाली फिल्म नियमित हेरिरहने र कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौं । यो फिल्म हेर्दा आम दर्शकले नयाँ उर्जा पाउनुहुनेछ ।’
रेखाका अनुसार ‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको छ । नेपाली फिल्ममा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने उनले त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्ने दाबी गरिन । ‘हाम्रो फिल्म आँखालाई शीतल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनुहुनेछ’, रेखा भन्छिन् । रेखाले ‘उपहार’मा समाज रुपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताइन् । फिल्ममा नारीमात्र होइन, पुरुष पनि पीडित छन् भन्ने कुरा देखाइएको उनले सुनाइन् ।
५–१० वर्ष यता नेपाली फिल्ममा देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक रहेको उनले बताइन् ।
‘हामीले ‘हिट’ भन्दा पनि दर्शकले मन पराउने कथामा फिल्म बनाएका छौं । फिल्मको कथा, छायांकन, सम्पादन, संगीत लगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौं । दर्शकले तनाव मुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ’ – रेखाले भनिन् ।
नयाँ कलाकारसँगको सहकार्यले आफू खुशी भएको उनले बताइन् । ‘फिल्मको प्रमोसनमा नयाँदेखि पुराना कलाकारहरूले उत्तिकै साथ दिइरहनुभएको छ । मेला, महोत्सव होस् या मिडिया अन्तवार्तामा उहाँहरू सक्रिय हुनुहुन्छ’, रेखा भन्छिन् ।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।