
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनेर उनले बिहान ९ बजेका लागि सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको छ ।
००००
प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा युवतीसहित थप तीन जनालाई पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका–६ पैँयुटारका कुमार थापाले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए ।
प्रहरीले तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय विक्रम थापामगर, काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ की २५ वर्षीया प्रतीक्षा आचार्यलाई पक्राउ गरेको हो ।
उक्त घटनामा संलग्न रहेको भन्ने किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
००००
स्रोत अभावजस्ता कारणहरूले अघिल्ला वर्ष समस्याको विषय बनेको स्वास्थ्य बिमाको भुक्तानी अब सहज हुन थालेको छ । नयाँ सरकार गठन भएपछि विगतमा बाँकी बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो।
पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बिमाबापत एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । जसबाट एक सय ५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी अस्पतालले बिमाबापतको रकम प्राप्त गरेका छन् ।
००००
सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल, वीरगञ्जबाट पनि उपलब्ध हुने भएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सूचना जारी गरी निजामती कर्मचारी अस्पताल काठमाडौंले उपलब्ध गराउने छुट तथा सहुलियतसहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर अस्पताल र नारायणी अस्पतालमा पनि उपलब्ध हुने जानकारी दिएको हो ।
००००
परराष्ट्रमन्त्री शिशिर खनालले अबको केही महिनामा नेपाल र भारतबाट उच्चस्तरीय भ्रमण हुने बताएका छन् । आफ्नो भ्रमणसँगै २ वर्षदेखि रोकिएको औपचारिक उच्चस्तरीय भ्रमणको शुरूआत भएको र आगामी दिनमा भारतबाट पनि हुने उनले बताए ।
भारतको ३ दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि आइतबार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले द्विपक्षीय भ्रमण हुने बताएका हुन् ।
‘दुई देशबीच झण्डै दुई वर्षदेखि औपचारिक उच्चस्तरीय भ्रमण भएको थिएन, मेरो भ्रमणको शुरूआत भएको छ,’ खनालले भने, ‘अबका केही महिनामा दुवै देशबाट यस्ता उच्चस्तरीय भ्रमण हुनेछन् । यताबाट पनि उताबाट पनि उच्चस्तरीय भेटघाट भ्रमण हुनेछन् ।’
मन्त्री खनालले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने विषयमा आफूले कुरा राखेको बताए ।
००००
थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियामा रहेका ६६ जना नेपालीलाई तत्काल स्वदेश फर्किन निर्देशन दिएको छ ।
दूतावासले आइतबार एक सूचना जारी गर्दै भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी त्यहाँ बस्दै आएका उनीहरूलाई तत्काल स्वदेश फर्किन भनेको हो ।
००००
नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ ।
आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन् ।
००००
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाहीको तयारी गरिएको छ ।
एक हातले सवारी साधनको ह्यान्डल र अर्को हातले मोबाइल फोन समातेर 'भिडियो लाइभ' गर्दै लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाएको भन्दै ट्राफिक प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
००००
अन्तर-व्यवस्थापिका मञ्चले सङ्घीय संसद् तथा प्रदेशसभाका सदस्यहरूलाई सहयोगी कर्मचारी (पीए) व्यवस्था गर्न पहल गर्ने भएको छ ।
मञ्चको एघारौं सम्मेलनले आइतबार टीकापुर सन्देश पत्र जारी गर्दै सङ्घीय संसद् तथा प्रदेशसभाका सदस्यहरूलाई अत्यावश्यक रहेको सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने जनाएको हो ।
'सङ्घीय संसद् तथा प्रदेशसभाका सदस्यहरूको कार्यगत दक्षता अभिवृद्धि गरी कानून तर्जुमाको कार्य एवं संसदीय क्रियाकलापलाई गुणस्तरीय र प्रभावकारी तुल्याउन सङ्घीय संसद् तथा प्रदेशसभाका सदस्यहरूलाई अत्यावश्यक रहेको सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने,' टीकापुर सन्देश पत्रमा भनिएको छ ।
००००
पूर्वगृहमन्त्री सुधन गुरुङले आफू पुनः गृहमन्त्री भएको खण्डमा फोटो खिच्न र बधाई दिनका लागि माला खादा लिएर नआउनु आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको पहिलो जिल्ला अधिवेशनमा सम्बोधन गर्दै गुरुङले आफू पुनः गृहमन्त्रीमा फर्किन सक्ने संकेत गरेका हुन् ।
००००
एसियन गेम्स २०२६ पुरुष क्रिकेट छनोटअन्तर्गत सिंगापुरमा भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको छ ।
सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
आइतबार भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
००००
रास्वपाको जिल्ला अधिवेशनबाट धमाधम नेतृत्व चयन भएका छन् । रास्वपाको शनिबार र आइतबार जिल्ला अधिवेशन भएको थियो ।