
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठग्ने र दुई-चार थान नागरिकता राख्नेलाई संसद्मा नभई घर पठाएर अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
उनले अख्तियारले डामेका, आयोगले पोलेका र सरकारी जग्गामा आँखा गाडेका मन्त्रीको झण्डा छोपेर घर पठाउनु पर्ने बताए ।
सोमवार प्रतिनिधि सभा बैठकको शून्य समयमा महामन्त्री थापाले सहकारी ठग्नेलाई संसद्मा राख्न नहुने बताएका हुन् । तर उनले कसैको नाम भने लिएनन् ।
‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेका, आयोगले पोलेका र सरकारी जग्गामा आँखा गाडेका झण्डावालको झण्डा छोपेर घर पठाइदिऔं’, थापाले भने, ‘अनि सहकारी ठग्ने र दुई-चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घर पठाइदिएर अनुसन्धान गर्न लगाऔं । यति गरेपछि निर्दोष भए फर्केर आउनु होला फूलमाला लाएर स्वागत गरौंला । दोषी भए दण्ड व्यहोर्नु होला ।’