
देशका विभिन्न स्थानबाट पैदल यात्रा गरेर काठमाडौं आएका लघुवित्त पीडितहरूले संसद् भवन अगाडि प्रदर्शन गरेका छन् ।
आइतवार सिफलमा थाल ठटाएर प्रदर्शन गरेका उनीहरू सोमवार नयाँबानेश्वरको संसद् भवन प्रवेश गरेका हुन् ।
पीडित र प्रहरीबीच धकेलाधकेल भएको थियो ।
बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद्भित्र प्रदर्शन गर्न पुगेका ४९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
'बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसदभित्र प्रवेश गरेका ४८ जना महिला र एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ', काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले लोकान्तरसँग भने ।
माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरूले बताउँदै आएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले पनि लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी










