
लघुवित्त पीडित संसद् भवन प्रवेश गरेको विषयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखसहित उच्च अधिकारीसँग सोधपुछ गरेका छन् ।
मन्त्री श्रेष्ठले सोमवार साँझ गृह सचिव दिनेश भट्टराई, आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापा, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख रुद्र पण्डित, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेका हुन् ।
सोमवार दिउँसो निषेधित क्षेत्र पार गर्दै ४८ जना महिला र एक पुरुष संसद् भवन परिसरमा प्रवेश गरेर प्रदर्शन गरेका थिए । उनीहरूलाई नियन्त्रणमा लिएर बानेश्वर वृत्तमा राखिएको छ ।
लघुवित्त पीडितहरू माइतीघरदेखि निषेधित क्षेत्र तोडेर बानेश्वरस्थित संसद् भवनभित्रै पुगेका थिए ।
घटनापछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले गठन गरेको समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।