कर्जा हिनामिना गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।
उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलवार पक्राउ गरेको हो ।
सीआईबी प्रमुख किरण बज्राचार्यले लोकान्तरसँग यसको पुष्टि गर्दै भनिन्, 'सीईओ पदको दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेको विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले मनोज न्यौपाने र अन्य ९ जनालाई नियन्त्रणमा लिइएको छ ।'
तत्कालीन सेन्चुरी बैंकलाई गत साल प्रभु बैंकले प्राप्ति गरेको थियो । तर मनोज न्यौपानेलाई सेन्चुरी बैंककै सीईओ रहँदा गरेको मनोमानीका आधारमा पक्राउ गरिएको हो ।
उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको डिजाइन र मिलेमतोमा सेन्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ मनोज न्यौपाने, त्यसअघिका सीईओ तुलसीराम गौतम लगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानिनोक्सानी पुर्याएको आरोप छ ।