
मोरङको बेतना सामुदायिक वन उपभोक्ता समूहले संरक्षित गरेर राखेको भाले चित्तल हराएको घटनाबारे सब–डिभिजन वन कार्यालयले उपभोक्ता समितिमाथि छानबिन गर्ने भएको छ । बेलाबारी नगरपालिका– ४ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको यो सिमसारमा शनिवार राति चित्तल मारेर लगिएको समितिको दाबी छ । सुरक्षा घेराभित्र राखिएको चित्तललाई रातको समयमा मारेर लगेको भेटिएको सब डिभिजन वन कार्यालय, बेलबारीका सहायक वन अधिकृत दीपेशकुमार मिश्रले बताए ।
पर्यटकलाई आकर्षित गर्नका लागि सिमसार क्षेत्रमा विभिन्न चराचुरुङ्गी तथा बन्यजन्तु पाल्ने गरिएको छ । सो क्षेत्रमा बाँदर, मुसा, चित्तल लगायतका पशुपंक्षी पालिएको छ । राजनीतिक भागबन्डाले लथालिङ्ग भएको बेतना सामुदायिक वनमा पछिल्लो समय भने पशु–चौपाया नै हराउन थालेका छन् । त्यसमा अहिले हराएको त झनै सीसीटीभी क्यामरा जडान गरिएको ठाउँमा सुरक्षागार्डको नियन्त्रणमा राखिएको थियो ।
सिमसारमा रहेका ६ वटा चित्तलमध्ये एउटालाई भने फिल्मीशैलीमा मारेर लगिएको देखिएको सहायक वन अधिकृत मिश्रले बताए । ‘सीसी क्यामरा फुटेजमा रुखबाट हाम फालेर समातेको मात्रै देखिन्छ,’ उनले भने, ‘तीन–चार जनाको समूहले मारेर लगेको हाम्रो अनुसन्धानले देखाएको छ ।’ सीसी क्यामरा फुटेजमा टाउको छोपेका एकजना मात्रै देखिएको मिश्रले बताए ।
निकैबेर कुरेर एकजना व्यक्तिले आक्रमण गरेको सीसी क्यामरा फुटेजमा देखिएको बेतना सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष कमल कोइरालाले बताए । भिडियोमा एकजना देखिए पनि तीन–चार जनाको समूहले मारेर लगेको अनुसन्धानले देखिएको उनको भनाइ छ ।
‘साइडसम्म सीसी क्यामराले क्यापचर गर्दैन । त्यो चित्तललाई मार्दा छटपटाउने यता–उता हुने केही छैन । एकैपटकमा हिर्काएर कुदाउँदै लगेर मारेको देखिन्छ । त्यसपछि केही पनि देखिँदैन,’ वन अधिकृत मिश्रले भने, ‘अर्काे टीम साइडमा लुकेर बसेको र त्यसै लगेको अनुमान गरेका छौं ।’ चित्तलको मासु लगेर आन्द्रा चाहिँ यत्रतत्र त्यहीँ छाडेको उनले बताए ।
सिमसार क्षेत्रका जनावरको रेखदेख गर्नका लागि दुईजना सुरक्षा गार्डसमेत राखिएको छ । सुरक्षा गार्ड र सीसी क्यामराको निगरानीमा रहेको जनावर चोरी भएको चार दिन बितिसकेको छ । तर प्रशासनले दोषीलाई समाउन सकेको छैन । छानबिन गर्ने निकायले सुराकी पठाएर अनुसन्धान गरिररहेको दाबी गरिरहेको छ । ‘सुरक्षा गार्ड, अन्य कर्मचारी तथा उपभोक्ता समितिमाथि पनि छानबिन गर्छाै,’ सहायक वन अधिकृत मिश्रले भने, ‘मुद्दा परेपछि सबैलाई छानबिनमा ल्याइन्छ । अब केही दिनमा सबै खुलिहाल्छ नि !’
उक्त चित्तल शनिवार बिहान राति ३ः३० बजे हराएको सीसी क्यामरामा देखिएको छ । ढोकाबाटै मान्छे पसाएर चित्तलको चोरी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको वन कार्यालयले जनाएको छ । मारेर लगिएको चित्तल करिब ६० केजीको रहेको थियो ।
वन कार्यालयका अनुसार सो राति दुईजना रात्रिकालीन सुरक्षा गार्ड राखिएको थियो । राति बस्ने एकजना कर्मचारी भने बिदामा बसेका थिए । चोरी भएको बेला सुरक्षा गार्डहरू गस्तीमा गएको समितिलाई उनीहरू बयान दिएका छन् । ‘छानबिनका क्रममा उनीहरूले वनको माथिल्लो क्षेत्रमा मान्छे बोलेको सुनेपछि गएको भनेर हामीसँग भनेका छन्,’ कोषाध्यक्ष कोइरालाले भने ‘घटनाको प्रकृत हेर्दा यसै हो भन्ने अवस्था छैन । अनुसन्धान गर्दै जाँदा भोलि सबै खुल्दै जाला ।’
दलीय भागबन्डाका कारण अस्तव्यस्त
पर्यटकको रोजाइमा परेको यो सिमसार पछिल्लो समय भने दलीय भागबन्डाका कारण अस्तव्यस्त बन्दै गइरहेको स्थानीयले बताएका छन् । उपभोक्ता समितिमाथि पटक–पटक अनियमिताको आरोप लाग्ने गरेको छ । तर छानबिन भने नहुने गरेको स्थानियको गुनासो रहेको छ ।
यो सामुदायिक वनमा ८ वर्षदेखि साधारणसभासमेत हुन सकेको छैन । बेतना सिमसार पनि सामुदायिक वनअन्तर्गत नै पर्छ । केही महिनाअघि नयाँ कार्यसमिति चयन गर्नेगरी साधारणसभाको आयोजना गरिए पनि नेकपा (माओवादी केन्द्र)ले भाग नपाएपछि भाँडिएको थियो ।
नेपाली कांग्रेस, नेकपा (एमाले) जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले भागबन्डा गरेर माओवादीलाई पाखा लगाएको आरोप छ । यसरी प्रतिनिधि छनोट गर्दा महिलाको संख्या ३३ नपुगेको भन्दै मोरङ जिल्ला अदालत, विराटनगरमा मुद्धा दर्ता गराएको थियो । अदालतले निर्वाचन नगराउन अन्तरिम आदेश गरेको थियो ।