
रिगल भनिने गुण्डा नाइके योगराज ढकालविरुद्ध सर्वोच्च अदालत गएर न्याय पाएकी चेतन मानन्धरकी पत्नी भारती शेर्पाले विष सेवन गरेकी छन् । उनले एकाएक मंगलबार विषय सेवन गरेपछि अस्पताल भर्ना गरिएको छ ।
भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पतालमा छोरालाई भेट्न नपाएको झोँकमा उनले मंगलबार साँझ विष सेवन गरेको बाँकेका प्रहरी प्रमुख सुवास बोहोराले जानकारी दिए ।
‘स्कुलमा गार्जियनको नाम अरू नै केही लेखिएको रहेछ,’ बोहोराले लोकान्तरसँग भने, ‘यसबारेमा कुरा गर्न खोज्दा स्कुलले छोरालाई भेट्न दिएनछ । त्यसपछि विष सेवन गरेको भन्नु कुरा आयो । उहाँको अवस्था सामान्य छ ।’
यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सर्वोच्चले मानन्धरको हत्यारा योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको थियो ।
गत कात्तिक १६ गते न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ । सो लगत्तै ढकाल पक्राउ परेका थिए ।