
चालु आर्थिक वर्षको ६ महिनामा कर्तव्य ज्यान मुद्दाका ४०६ जना अभियुक्त पक्राउ परेका छन् । तीमध्ये पुरुष ३६० र महिला ४६ जना रहेका छन् । पक्राउ पर्नेमा सात पुरुष र एक जना महिला विदेशीसमेत छन् ।
जम्मा पक्राउ परेकामध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत २२, कोशी प्रदेशमा ८५, मधेसमा ५८, बागमतीमा ३२, गण्डकीमा ३२, लुम्बिनीमा ७९, कर्णालीमा ४९ र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा ७७ प्रतिशत अभियुक्त प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ गर्न सफल भएको छ । अनुसन्धान निरन्तर चलिरहने भएको हुँदा अभियुक्त पक्राउ पर्ने सङ्ख्या बढ्दै जान्छ । आव २०७९/८० मा ७८, आव २०७८/७९ मा ७७, आव २०७७/७८ मा ७५, आव २०७६/७७ मा ८१ र आव २०७५/७६ मा ८२ प्रतिशत अभियुक्त पक्राउ गर्न सफल भएको थियो ।
पछिल्लो पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा कर्तव्य ज्यान मुद्दामा औषत ७९ प्रतिशत अभियुक्त पक्राउ परेका छन् ।
नेपाल प्रहरीले अनुसन्धानलाई निरन्तरता दिने र खोजतलासलाई तीव्र पारेका कारण यस्ता अपराधी पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिए ।
यो सफलता प्राप्त हुनुमा प्रहरीको क्रियाशीलता नै प्रमुख कारण भएको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले बताए । 'अनुसन्धान र खोजीकार्य निरन्तर रहने, चालु मुद्दाको अभियुक्त पक्राउ गर्न तथा अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी कार्यालयले कार्ययोजना नै बनाई कार्यान्वयन गर्ने हुँदा चालु मुद्दाका फरार प्रतिवादी तथा पुराना मुद्दाका फरार प्रतिवादीलाई समेत पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ,' उनले भने ।
खुला सिमाना र विश्वव्यापीकरणका कारण केही त्यस्ता व्यक्ति फरार रहेको भएता पनि इन्टरपोलको सहयोगमा समेत केही फरार प्रतिवादीलाई पक्राउ गरी ल्याइएका प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको सूचना संयन्त्रको प्रयोग, प्रविधिको प्रयोग र योजनासहितको निरन्तरताको प्रयासका कारण कर्तव्य ज्यानलगायतका मुद्दाका प्रतिवादीमध्ये ठूलो प्रतिशतलाई पक्राउ गर्न सफल भएको छ भने यो पक्राउ दरलाई अधिकतम बनाउन प्रहरी सदैव क्रियाशील रहेको प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले जानकारी दिए । रासस