२६ जेठ २०८३, मंगलबार
राष्ट्रिय सभा अध्यक्षको चुनाव

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– कांग्रेसलाई बचन दिएको छैन, अध्यक्ष छाड्न सकिन्न

फागुन १६, २०८०
काठमाडौं
माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– कांग्रेसलाई बचन दिएको छैन, अध्यक्ष छाड्न सकिन्न

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिनेबारे कुनै बचन नदिएको स्पष्ट पारेका छन् ।

उनले अध्यक्षमा दाबी नछाड्ने र एक्लै भए पनि उम्मेदवारी दिने भनेर नेताहरूलाई आश्वस्त पारेका छन् । 

बुधवार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले कांग्रेस नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउने भनेर आश्वासन नदिएको स्पष्टीकरण दिएका हुन् ।

कांग्रेस नेताहरूले भने प्रचण्डले आश्वासन दिएरै कृष्ण सिटौला राष्ट्रिय सभा सदस्य बनेको दाबी गर्दै आएका छन् । 

‘कांग्रेसलाई राष्ट्रिय सभा अध्यक्ष दिने कुनै सहमति भएको छैन, सिटौलालाई बचन दिएको कुरा सही होइन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘राष्ट्रिय सभा अध्यक्ष छाड्नुहुँदैन भन्ने तपाईंहरूको भावनाभन्दा अन्यथा निर्णय हुँदैन भनेर उहाँले भन्नुभएको छ ।’ 

बैठकपछि प्रवक्ता अग्नि सापकोटाले राष्ट्रिय सभा अध्यक्षमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको बताए ।

राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २९ गते चुनाव हुँदैछ । राष्ट्रिय सभा अध्यक्ष पद गुमाउँदा संवैधानिक परिषदमा माओवादी शून्य हुने भन्दै सदस्यहरूले कुनै पनि हालतमा नछाड्न दबाब दिएका थिए । 

राष्ट्रिय सभामा पहिलो दलको हैसियतमा अध्यक्षमा आफूहरूको दाबी स्वाभाविक हुने प्रचण्डले बताएका थिए । 

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी नछाड्ने बताए । 

‘अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा पार्टीले उम्मेदवारी दिने बताउनु भएको छ, दाबी छाड्न हुँदैन भन्नेमा सबैको एकमत छ,’ पौडेलले लोकान्तरसँग भने । 

माओवादीले उम्मेदवारी दिएकै कारण गठबन्धन टुट्ने अवस्था नआउने उनले जिकिर गरे । 

‘सकेसम्म हामी गठबन्धन टुट्न दिँदैनौं, तर टुटे टुट्छ,’ पौडेलले लोकान्तरसँग भने, ‘चुनावमा गठबन्धन नगर्ने भनेर निर्णय त उहाँहरू (कांग्रेस)ले नै गर्नुभएको हो ।’

माओवादीले उम्मेदवारी दिने बताएपछि कांग्रेस सशंकित देखिएको छ ।

गठबन्धनमा सहमति नभएपनि एक्लै उम्मेदवार उठाएमा माओवादी उम्मेदवारलाई समर्थन गर्ने संकेत एमालेले दिइसकेको नेताहरू बताउँछन् ।

त्यो अवस्थामा गठबन्धन भत्किन सक्ने विश्लेषण भइरहेका छन् । बुधवार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन खरानीको डल्लोजस्तो रहेकाले कुनै पनि बेला फुट्ने टिप्पणी गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्