
नेकपा (एकीकृत समाजवादी)मा जनताको बहुदलीय जनवाद (जबज) लाई अवलम्बन गर्ने कि समाजवादलाई जोड दिने भन्नेमा मत भिन्नता देखिएको छ ।
एकीकृत समाजवादीको आसन्न १० औं राष्ट्रिय महाधिवेशनका लागि आज बसेको दस्तावेज मस्यौदा समितिको बैठकमा जबजलाई अवलम्बन गर्ने वा समाजवादीको कार्यक्रमलाई जोड दिनेमा नेताहरूबीच फरक मत देखिएको हो ।
बैठकमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गर्ने राजनीतिक गतिविधि, कार्ययोजनाबारे छलफल भएको समाजवादीले जनाएको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा अधिकांश नेताले जनताको बहुदलीय जनवाद (जबज) को वैचारिक तथा सैद्धान्तिक कार्यदिशामा जोड दिएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
वर्तमान सङ्कटको वस्तुगत विश्लेषण र समाधानका योजनामा छलफल केन्द्रित रहेको समाजवादीले जनाएको छ ।
मङ्गलवार बसेको बैठकमा छलफल बाँकी रहेकाले स्थगित भएकामा दस्तावेज तयारीका लागि अहिलेसम्म भएका गतिविधिका साथै विधान सम्मेलनका सुझावलाई कसरी समेट्ने, देशभरबाट सङ्कलन भएका के कस्ता सुझाव समावेश गर्ने विषयमा कार्यदिशालगायत विविध विषयमा आज नेताहरूले धारणा राखेका थिए ।
पार्टीले मस्यौदामाथि सुझाव सङ्कलन गर्न उक्त मस्यौदा जिल्ला तहका कार्यकर्तालाई पठाइ सकिएको जनाइएको छ । उनीहरूका सुझाव समावेश गरी दस्तावेज तयार गरिने छ ।
दस्तावेज तयारीका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय समिति गठन गरेको थियो । समितिमा सदस्यमा पार्टीको सचिवालयका सबै सदस्य र सात प्रदेशका इन्चार्जहरूलाई समावेश गरिएको छ ।