
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाकी तत्कालीन उप-प्रमुख सौमति रावल ऐडी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा आयोगले बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजनामा अनियमितता गरेको आयोगले आरोप पत्रमा उल्लेख गरेको छ ।
इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दीपक नेपालीसमेतलाई आयोगले प्रतिवादी बनाएको छ ।
ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरेको अभियोगपत्रमा उल्लेख छ ।
झुट्टा बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी ४२ लाख २९ हजार ३५८ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरी सरकारी रकम हानिनोक्सानी पुर्याएको अभियोगपत्रमा उल्लेख छ ।
त्यसै गरी उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरुद्ध पनि ४२ लाख २९ हजार ३५८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।