
काठमाडौं, २३ असोज — दोक्लमनजिक चीन–भुटान सीमामा आफ्ना सैनिकहरूको एक ठूलो टुकडी तैनाथ गर्ने चीनको फैसलाले यसअघि भारतसँगको गतिरोधलाई फेरि सम्झाएको छ ।

विशेषज्ञहरूका अनुसार, दोक्लम विवाद चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो स्थिति बलियो बनाउन तथा शक्तिको प्रदर्शन गर्नका लागि गरिएको प्रयत्न थियो ।
वास्तवमा सी अहिले आफ्ना पूर्ववर्ती जियाङ जेमिनका बफादारहरूसँग शक्तिसंघर्ष गरिरहेका छन् । पूर्वराष्ट्रपति जेमिनले कम्युनिस्ट पार्टीमा लगातार आफ्नो प्रभाव बढाउने कोशिश गरिरहँदा सीले चाहिँ सन् २०२२ मा तेस्रो कार्यकाल चलाउने अपेक्षा राखेका छन् ।
कात्तिक १ गतेदेखि शुरु हुने राष्ट्रिय कंग्रेसमा सी दोस्रो कार्यकालका लागि छानिने प्रबल सम्भावना छ । सामान्यतया चीनका राष्ट्रपतिले दुई कार्यकाल चलाउन पाउँछन् र सी यस सीमालाई बढाउन चाहन्छन् । जेमिनका समर्थकहरू चाहिँ यसको विरोध गरिरहेका छन् ।
चीनको राजनीतिको जानकारी राख्नेहरूका अनुसार, सीले जेमिनका अनुयायीहरूलाई पार्टी कंग्रेसको पोलिटब्युरोको स्थायी समितिबाट हटाउने प्रयत्न गरिरहेका छन् ।
त्यसबाहेक दोक्लम चीनको ठूलो भौगोलिक लक्ष्यमा पनि समावेश छ । सी अमेरिकालाई पछि पार्दै चीनलाई संसारको सबभन्दा ठूलो शक्ति बनाउन चाहन्छन् । तर भारतले उनको महत्त्वाकांक्षामा अवरोध गरेको देखिन्छ ।
त्यसैले सी भारतमाथि दबाब दिनका लागि पनि दोक्लम विवाद चर्काउन चाहन्छन् ।
दोक्लममा चीन र भारत पछि नहटेपछि ब्रिक्स सम्मेलनको बहानामा गतिरोध अन्त्य त गरियो तर पार्टी कंग्रेसभन्दा अघि चिनियाँ सेना भारतको शक्ति र उसको भूराजनीतिक उद्देश्यलाई पुनः परीक्षण गर्न इच्छुक देखिन्छ ।
दीपाञ्जन रोय चौधरीको विश्लेषण नवभारत टाइम्सबाट