२८ जेठ २०८३, बिहीबार
फ्राइडे रिलिज

एकै दिन हलमा तीन नयाँ चलचित्र: ९ करोड रुपैयाँ दाउमा !

फागुन २५, २०८०
काठमाडौं
एकै दिन हलमा तीन नयाँ चलचित्र: ९ करोड रुपैयाँ दाउमा !

आज (शुक्रवार)बाट एकसाथ तीनवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ नेपाली फिल्म एकैदिन आजबाट प्रदर्शनमा आएका हुन् ।

ठूला मानिएका विदेशी फिल्म प्रदर्शन हुने मितिमा आफ्नो फिल्म रिलिज गर्न डराउने नेपाली निर्माताहरू एकआपसमा भिड्न भने तयार देखिँदै आएका छन् । 

यसपटक पनि महाशिवरात्रि र त्यसपछि पनि केही दिनको सार्वजनिक बिदालाई हेरेर निर्माताले फिल्म रिलिज गरेका हुन् । योसँगै हलमा धेरै समयपछि नेपाली फिल्मबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । 

फागुन २५ का लागि सबैभन्दा पहिला आफूले प्रदर्शन मिति तय गरेको ‘काँडेतार’का निर्देशक एवं अभिनेता नवल खड्का बताउँछन् । ‘हामीले गत वैशाखमा सेन्सरसँगै फिल्मको प्रदर्शन मिति घोषणा गरेका थियौं’ खड्काले भने, ‘अरु फिल्म पछि थपिएका हुन् ।’ 

‘उपहार’का निर्देशक ज्ञानेन्द्र देउजाले नारी दिवसलाई लक्षित गरेर आफ्नो फिल्म प्रदर्शनमा ल्याइएको बताए । ‘उपहार’ रेखा थापाको प्रस्तुतिमा निर्माण भएको फिल्म हो । 

null

निर्देशक देउजाले भने, ‘रेखाका फिल्म नारीप्रधान हुन्छन् । रिलिजका लागि नारीदिवस रोज्नुको मुख्य कारण नारीप्रधान फिल्म र नारीले बनाएको फिल्म भएका कारण हो । त्यसमाथि शिवरात्रि पनि पर्‍यो ।’ अर्को फिल्म ‘रंगेली’पछि थपिएको थियो । त्यसमाथि यसअगाडि रिलिज भएका नेपाली फिल्म ‘गोर्खा वारियर’ र ‘अगस्त्य’ पनि निरन्तर प्रदर्शनरत छन् । विदेशी फिल्मसमेत शुक्रवार रिलिज भएका छन् ।  

दाउमा ९ करोड
सामान्यतया पछिल्ला धेरै नेपाली फिल्महरू डेढदेखि २ लाखसम्ममा निर्माण हुने गरेका छन् । निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार ‘उपहार’ २ करोड रुपैयाँ हाराहारी लगानीमा निर्माण भएको हो । 

यस्तै, ‘काँडेतार’मा ४ करोड हाराहारी लगानी भएको निर्देशक नवल खड्का दाबी गर्छन् । अर्को फिल्म ‘रंगेली’का कार्यकारी निर्माता जितेन्द्र खतिवडाका अनुसार यो फिल्ममा ३ करोड हाराहारी लगानी भएको छ । 

null

फिल्मका सम्बन्धित व्यक्तिको दाबीलाई पत्याउने हो भने तीनवटा फिल्मको कुल लगानी ९ करोड रुपैयाँ हाराहारी हुन आउँछ । उक्त लगानी उठाउन कतिको व्यापार गर्नुपर्ला ? 

निर्माताको हातमा ९ करोड रुपैयाँ आउन फिल्मले कुल २२ करोड रुपैयाँ हाराहारीको व्यापार गर्नुपर्ने वितरक रोहित कट्टेलले बताए । धेरै फिल्म रिलिज हुँदा लगानी सुरक्षित नहुने जोखिम धेरै हुने फिल्मकर्मीहरू बताउँछन् । 

प्रदर्शनमा आएका फिल्मका निर्देशक स्वयंम एकै मितिमा धेरै फिल्म प्रदर्शनमा आउनु राम्रो नभएको स्वीकार्छन् । फिल्म जुध्दा सबैलाई जोखिम देखिएको उनीहरू बताउँछन् । 

‘उपहार’का निर्देशक ज्ञानेन्द्र देउजाले भने, ‘फिल्म भिड्दा भयंकर असर हुन्छ नि ! शो बाँडिन्छ । अघिल्लो हप्ताका फिल्महरू पनि बाँकी हुन्छन् । अहिले पनि अगाडिका फिल्महरूसमेत छन् ।’ 

हलमा धेरै फिल्म एकसाथ आउँदा शो बाँडिएको छ । मल्टिप्लेक्स चेन क्यूएफएक्सले विदेशी फिल्मलाई धेरै शो दिएर नेपाली फिल्मलाई न्यून शो दिएको भनेर यतिबेला फिल्मकर्मीले आलोचनासमेत गरिरहेका छन् । सामाजिक सञ्जालमा समेत शो बाँडफाँडमा नेपाली फिल्मलाई विभेद गरिएको भनेर क्यूएफएक्सको आलोचना भइरहेको देखिन्छ । अमेरिकामा रहेकी अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै क्यूएफएक्सले नेपाली फिल्मलाई विभेद गरेको गुनासो गरेकी छन् । 

null

‘सँगैको बिग मुभिज, वान सिनेमाज, एफक्यूबलगायत सम्पूर्ण नेपालभरीका हलले सम्मानजनक शो उपलब्ध गराएको छ । त्यसमा आभार व्यक्त गर्छु,’ रेखाले लेख्छिन्, ‘तर क्यूएफएक्स चेनले नेपाली फिल्मलाई विभेद गरी विदेशी फिल्मको भरणपोषण गरेकोमा आपत्ति छ ।’ 

उनले प्रश्न गरेकी छन्, ‘३ वटा पर्दा भएका अन्य हलले ४ शो दिन सक्ने तर काठमाडौंमा मात्र १३ स्क्रिन भएको चेनले ३ शो मात्र उपलब्ध गराउनु अर्थ के हो ?’ 

हलमा रेखादेखि दयाहाङसम्म
प्रदर्शनमा आएका ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ तीनवटै प्रतीक्षित मानिएका फिल्म हुन् । तीनवटै फिल्म विभिन्न कारणले चर्चामा रहँदै आएका छन् । रेखा थापाको फिल्म ‘उपहार’लाई गतवर्षको हिट फिल्म ‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । 

प्रस्तुतकर्ता र निर्देशकका हिसाबले मात्रै होइन, यो फिल्ममा कलाकारहरूसमेत चलेका छन् । रेखा स्वयंमका साथमा पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जङ्गकार्की लगायतका कलाकारहरू यसमा देखिएका छन् । यो फिल्म नारीलाई केन्द्रमा राखेर निर्माण गरिएको छ । जीवनको यात्रामा आउने उतारचढावको कथा यसले पेस गर्छ । 

नवल खड्काको ‘काँडेतार’ राष्ट्रियताको विषयमा आधारित रहेर निर्माण भएको फिल्म हो । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य थिममा रहेर खड्काले यो फिल्म बनाएका हुन् । फिल्मको शीर्ष भूमिकामा उनी स्वयंम छन् । साथमा, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ,  प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा लगायतको अभिनय छ । 

अर्को फिल्म ‘रङ्गेली’मा ब्लकबस्टर फिल्म खेलेका जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर शीर्ष भूमिकामा छन् । यो ग्याङ्स्टर फिल्म हो । यसलाई एक्सन र ड्रामा जनरामा राखिएको छ । अर्जुन सुवेदीको निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनासहित अर्पण थापा, प्रवीण खतिवडा, रुपेश झा, सुन्दर धिताल, सन्तोष सरकार लगायतको अभिनय छ । फिल्ममा संसार चौलागाईं र रमेश भट्टराई (वशिष्ठ) निर्माताका रूपमा छन् । तीनवटै फिल्मले प्रिमियर शो समेत गरिसकेका छन् । प्रिमियरमा फिल्म हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्