
नेकपा एमालेले नयाँ गठबन्धनमा साथ समर्थनका लागि अन्य राजनीतिक दलहरूलाई आग्रह गरेको छ । नयाँ सत्ता समीकरण बनेपछि पहिलोपटक केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको उनले बताए । ‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ,' बैठकपछि उनले भने, 'प्रचण्ड नेतृत्वमा ५ राजनीतिक दलमा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौं । यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौं ।'
यस्तै, एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आज बसेको सचिवालय बैठकले आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने तय गरेको महासचिव पोखरेलले जानकारी दिए ।
वैशाख १० गते पार्टी स्थापना दिवसको अवसरमा विशेष समारोह आयोजना गरिने पोखरेलले बताए । ‘हामीले पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछौं। त्यही सन्दर्भमा देशभरबाट अगुवा कार्यकर्ता बोलाउने निर्णय पनि गरेका थियौं,’ पोखरेलले भने, ‘आज बसेको बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ।’
एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो।