
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष उम्मेदवारको टुंगो पदाधिकारी बैठक बसेर लगाउने भएको छ ।
शनिवार बसेको संसदीय बैठकमा अध्यक्ष चुन्ने जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिइएको र उनले पदाधिकारी बैठक राखेर यसबारे छलफल गर्ने बताएका हुन् ।
पर्यटनमन्त्रीसमेत रहेका माओवादी सांसद हितबहादुर तामाङले लोकान्तरसँग भने, 'आजको बैठकमा मुख्यतः राष्ट्रिय सभाको अध्यक्ष र विश्वासको मत लिनेबारे छलफल भयो । ३० गते प्रतिनिधि सभाको बैठक बस्ने भएकाले सोही दिन विश्वासको मत लिने कि भन्नेबारे पनि छलफल भएको छ । मिति भने ठ्याक्कै तोकिएको छैन ।'
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारीबारे पनि पदाधिकारी बैठक बसेर निर्णय लिने सहमति आजको बैठकमा भएको उनको भनाइ छ ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले नयाँ गठबन्धन बनाउनु परेको विषयमा बोलेका थिए । प्रचण्डको भन्दै उदृत गर्दै माओवादी केन्द्रका सांसद सूर्यमान दोङ तामाङले लोकान्तरसँग भने, 'राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै हामीले एमालेसँग पुनः गठबन्धन गर्ने निर्णय लिएका हौँ ।'
तामाङका अनुसार प्रचण्डले माओवादी केन्द्रलाई घेराबन्दीमा पारेर सिध्याउने षड्यन्त्र भएपछि नयाँ बाटो लिन बाध्य भएको बैठकमा बताएका थिए ।
उनले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल आए राम्रो हुने आफ्नो विचार रहेको लोकान्तरलाई बताए ।
'मैले नारायण दाहाल आए राम्रो हुन्छ भनेको थिएँ,' उनले भने, 'अन्य नेताहरू पनि यसमा सकारात्मक हुनुहुन्छ ।'