
शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘काँडेतार’को प्रदर्शन बन्द गर्ने घोषणा गरिएको छ । निर्माता, निर्देशक एवं अभिनेता नवल खड्काले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइतवारबाट फिल्मको प्रदर्शन नगर्ने–नगराउने निर्णय भएको बताए ।
फिल्मलाई प्रर्याप्त शो नदिएको भन्दै प्रदर्शन बन्द गर्ने घोषणा गरिएको हो । हलवालाहरूले फिल्म प्रदर्शनसम्बन्धी आम प्रचलनलाई मिच्दै आफ्नो फिल्मलाई प्रर्याप्त शो नदिएको निर्माता एवं निर्देशक खड्काले बताए ।
शुक्रवारबाट ‘काँडेतार’सँग अन्य दुई फिल्म ‘उपहार’ र ‘रंगेली’ पनि प्रदर्शनमा आएका छन् । ती फिल्मलाई प्राइम टाइममा प्रर्याप्त शो दिँदा आफ्नो फिल्मलाई बिहानको शो दिइएको पनि खड्काको गुनासो छ ।
‘हामीले देशभक्ति फिल्म बनाउनु के अपराध गरेका हौँ ? के देशभक्ति कथामा बनेको फिल्म फिल्म नै होइन ? व्यवहारमा यस्तै देखियो,’ खड्काले भने ।
फिल्मको प्रदर्शन बन्द गर्ने निर्णयले दर्शकमा पर्न गएको असुविधाप्रति निर्माण कम्पनीले क्षमासमेत मागेको छ । नेपाल–भारत सीमामा काँडेतार लगाएर सीमाना व्यवस्थित गर्नुपर्छ भन्ने कथा खड्काको यो फिल्मले पेश गरेको छ ।