
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
आज अपरान्ह ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी देउवाले बैठक बोलाएका उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
‘राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न ४ बजे संसदीय दलको कार्यसमितिको बैठक बोलाइएको छ’, भानुले लोकान्तरसँग भने ।
राष्ट्रिय सभा अध्यक्षको चुनाव २९ फागुनमा हुँदैछ ।
कांग्रेसले यस अघि कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर सत्ता समीकरण फेरिएपछि अध्यक्षमा कांग्रेसका उम्मेदवारले जित्ने सम्भावना न्यून छ । योसँगै सिटौला उठ्ने सम्भावना पनि कम देखिएको छ ।
सिटौला अनिच्छुक देखिएपछि अरु नेताले पनि हार्ने चुनाव उठ्न धेरै मन नगरेका नेताहरू बताउँछन् । सिटौला अनिच्छुक हुँदा आनन्दप्रसाद ढुंगाना र कमला पन्त उम्मेदवार बन्ने चर्चा छ ।
कांग्रेसले आफूसँग सल्लाह नगरेको भन्दै चुनाव सार्नुपर्ने मत अघि सारेको थियो ।
तर अध्यक्षको चुनाव २९ फागुनमै हुने भएको छ ।