
कुनै समय होटलमा मजदुरका रुपमा काम गर्न छिरेका एक युवा होटलको मालिक हुँदै अहिले होटल व्यवसायीको नेता बनेका छन् ।
विसं २०५२ मा नारायणगढको एक रेष्टुरेण्टमा मजदुरका रुपमा प्रवेश गरेका उनी अहिले दुई रेष्टुरेण्ट र एउटा होटलका मालिक बनेका हुन् । यति मात्रै होइन उनी होटल व्यवसायी सङ्घ चितवनको अध्यक्ष पनि बनेका छन् ।
गोरखाको घ्याम्पेसालमा विसं २०३७ मा जन्मिएका लोकनाथ भट्ट सफल व्यवसायी बनेका हुन् । विसं २०४२ मा नवलपरासीको प्रगतिनगरमा बसाइ सरेर उनको परिवार आएको हो । भविष्यमा डाक्टर बन्ने सङ्कल्पका साथ अध्ययनमा राम्रो सफलता हासिल गर्दै गरेका उनलाई अध्ययनमा अघि बढ्ने बाटो भने सहज भएन ।
मध्यम परिवारका उनकी आमा बिरामी भएर ठूलो धनराशि खर्च भएपछि परिवारमा आर्थिक समस्या थपिँदै गयो । उनी अध्ययनलाई अघि बढाउन सक्ने अवस्था नदेखेपछि माध्यमिक तहको पढाइ छाडेर रोजगारीका लागि नारायणगढ बजार छिरे । नारायणगढमा रहेको भेटघाट रेष्टुरेण्टमा उनका मामा सीताराम पन्थ काम गर्थे । मामाको सहयोगले सोही रेष्टुरेण्टमा उनी रोजगारीमा प्रवेश गरे ।
सुरुका दिनमा प्रतिमहिना रु पाँच सय तलबमा जागिर सुरु गरेका कृष्णले १० वर्षसम्म सोही रेष्टुरेण्टमा काम गरे । रेष्टुरेण्टमा टेबुलबाट भाँडा उठाउनेबाट सुरु भएको उनको काम रेष्टुरेण्टका सबै खालको काम गर्ने अवसरमा परिणत भयो । उनले भने, “ मैले रेष्टुरेण्ट छाड्दै गर्दा सबै काम गर्नसक्ने भएको थिएँ ।” उनका अनुसार रेष्टुरेण्ट छाड्ने बेलामा तलब रु आठ हजार पुगेको थियो । त्यसो त सो अवधिमा तलबभन्दा बढी पुरस्कार (टिप्स) स्वरुप पैसा उनले पाउँथे।
टिप्सको पैसा जम्मा गरेर भरतपुरको कृष्णपुरमा उनले घडेरी किने। विवाहपछि होटल छोड्दै गर्दा टिप्सले किनेको जग्गा बेचेको पैसाले उनहाँले विसं २०६२ मा आफ्नै रेष्टुरेण्ट खोले । उनलाई रेष्टुरेण्ट खोल्न त्यति पैसाले पुगेन । नपुग पैसा चर्काे ब्याजमा लिएर उनले दैनिक तिरे । उनले भने, “मासु, मदिरा उधारो किनेर बेच्दै तिर्दै गरेँ, अलिअलि बेचेको पैसाले ऋण तिर्दै गएँ ।”
रु तीन लाख २५ हजारमा कृष्णले होटल किनेका थिए । दुई जना कर्मचारी राखेर श्रीमान् श्रीमती मिलेर खटिए ।
भरतपुरमा दुई कठ्ठा तीन धुर जग्गा किनेर उनले आफ्नै होटल र रेष्टुरेण्ट सुरु गरेका थिए। अहिलेसम्म आइपुग्दै गर्दा नारायणगढको रेष्टुरेण्टमा मासिक रु एक लाख हाराहारी भाडा तिर्ने कृष्णको भरतपुरमा होटल र रेष्टुरेण्टको बैंकको मासिक रु सात लाख तिर्नुपर्छ । दुवैतिर गरेर २८ जनाले रोजगारी पाएका छन् । त्यसो त आठ जनालाई उनले पाँच प्रतिशतका दरले लगानीविना सेयर दिएका छन् ।
हालै मात्र होटल व्यवसायी सङ्घ चितवनको उनी अध्यक्ष भए । सँगै पढेका साथी उपसचिव, डाक्टर लगायतका पेशामा छन् । उनले भने, “मलाई विदेश नगएकामा पछुतो लागेको छैन, आफू खुसी हुन आफूभन्दा तल भएकालाई हेर्नुपर्दाे रहेछ, काम गर्न आफूभन्दा माथि गएकालाई हेर्नु पर्दाे रहेछ ।” नेपालमै लगनशील भएर काम गर्ने हो भने विदेश जानु नपर्ने उनको अनुभव छ । रासस