
पशु चिकित्सकको अभाव भइरहेका बेला नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको उत्तीर्ण दर सुखद देखिएको छ । पशु चिकित्सकको १९ औँ परीक्षाको नतिजामा ७९ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुनुले चिकित्सक अभाव खड्किरहेका बखतमा राहत दिएको हो ।
परिषद्ले प्रत्येक चौमासिकमा लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ । परिषद्को लाइसेन्स परीक्षा उत्तीर्ण नहुनेले प्रयोगात्मक गर्न पाउँदैनन् । परिषद्ले सोमबार लिएको परीक्षामा ५३ जिल्लाका २१२ सहभागीमध्ये ४९ जिल्लाका १६८ जना उत्तीर्ण भएका छन् । परीक्षामा उत्तीर्णमध्ये ३८ प्रतिशत महिला छन् । सहभागी महिलामध्ये ९२ प्रतिशत उत्तीर्ण भएका छन् । गोरखापत्रमा खबर छ ।