३० जेठ २०८३, शनिबार

२१ मिनेट घटाइयो ‘रङ्गेली’, आजबाट कम लम्बाइको प्रदर्शनमा

फागुन २८, २०८०
काठमाडौं
२१ मिनेट घटाइयो ‘रङ्गेली’, आजबाट कम लम्बाइको प्रदर्शनमा

शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘रङ्गेली’को पुनः सम्पादन गरी लम्बाइ घटाइएको छ । 

यसअघि २ घण्टा ५१ मिनेट लम्बाइसहित हलमा प्रदर्शनमा आएको यो फिल्म सोमबार बिहानैदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शनमा आएको छ । 

फिल्मका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै फिल्मको लम्बाइ घटाइएको बताए । ‘दर्शकको राम्रो प्रतिक्रियाको बाबजुद फिल्म केही लामो भएको महसुस भएको प्रतिक्रिया पनि आइरहेका छन् । यसलाई केही घटाउँदा र ‘फास्ट कटिङ’ गर्दा झनै मज्जा आउँथ्यो भन्ने टिप्पणीलाई आत्मसात गर्दै करिब २१ मिनेट घटाइ २ घण्टा ३० मिनेटमा झारिएको छ’, निर्देशक सुवेदीले भने, ‘हामीले प्रत्यक्ष रूपमा दर्शकलाई भेट्दा फिल्मको लम्बाइ घटाउनु पर्ने सुझाव आएकोमा दर्शकको चाहना अनुरूप नै लम्बाइ घटाएका हौँ । अब दर्शकको भावना अनुरूप पुनः सम्पादन भएको फिल्म हलमा आएको छ ।’ 

पहिलो पटक फिल्म निर्देशन गरेका अर्जुनले दर्शकले सुस्त र लामो लाग्ने फिल्म हेर्न नचाहने रहेछन् भन्ने थाहा भएको बताए । उनले भने, ‘मैले पहिलो पटक फिल्म बनाएको हुँ । दर्शकको चाहना के हुने रहेछ भनेर पनि बुझ्ने अवसर पाएको छु । मुख्य कुरा त फिल्म बनाउन भन्दा हलमा चलाउन निकै मुस्किल रहेछ भन्ने महसुस गरेको छु ।’ 

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगर शीर्ष भूमिकामा छन् । साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्