
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीमा बनेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला जान सहज पहुँचमार्ग निर्माण गर्ने बताएका छन् ।
सोमवार रुपन्देहीको तिलोत्तमा–१७ स्थित निजी क्षेत्रबाट निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन सत्रमा बोल्दै उनले यस्ताे बताएका हुन् । मुख्य राजमार्गबाट स्टेडियमसम्म पुग्ने सहज बाटो निर्माणको योजना अघि सार्ने उनकाे प्रतिबद्धता थियाे ।
‘स्टेडियमबाट सहजरूपमा हामी हाइवेमा जान/आउन पाउनुपर्यो’, उपाध्यक्ष पौडेलले भने, ‘खेलाडी र दर्शकहरू यहाँसम्म आउनको लागि सजिलो हुनुपर्यो ।'
तिलोत्तमा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैसँगै सहकार्य गरेर स्टेडियमसम्म आउने रोड एक्सीसको लागि बजेट विनियोजन गर्ने उनले बताए ।
बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमाको मधवलियादेखि स्टेडियम ७ किलोमिटरकाे दूरीमा पर्छ ।
‘भाषण र चिल्ला कुरा गर्न हुँदैन । सकिन्छ भने काम गर्नु राम्रो, सकिन्न भने गफ नगर्नु राम्रो, म गफमा विश्वास गर्दिनँ, काममा विश्वास गर्छु', उनले थपे ।
सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोगको लागि आफूले अग्रसरता लिने पौडेलको भनाइ थियाे ।
उपाध्यक्ष पौडेलले निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले रुपन्देहीमा लगानीमैत्री वातावरण छ भन्ने पुष्टि गरेको बताए । यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने उनकाे विश्वास छ।
गत जेठ २९ गते शिलान्यास भएको रंगशालाको पहिलो चरणको काम अन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका छन् ।
१० वर्ष अष्ट्रेलियामा बिताएका गुल्मीका विनोद कुँवरले ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी)सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गरेका छन् । उनी आफैं पनि आईटी इन्जिनियर हुन् ।
कन्सल्टेन्सी व्यवसायसमेत गरिरहेका कुँवर दम्पतीले रुपन्देहीमा ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन शुरू गरेका थिए ।
रंगशालाका अन्य पूर्वाधारहरू पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।