काठमाडौं, २९ पुस - सरकारले आउँदो आर्थिक वर्ष (२०७४/७५) का लागि बजेटको सीमा निर्धारण (सिलिङ तोक्ने) तयारी गरेको छ । चालू आवको बजेटको आकारभन्दा १० प्रतिशत मात्रै बढाएर आगामी वर्षका लागि बजेटको सिलिङ तोक्ने तयारी भइरहेको जनाइएको छ, आजको कारोबार दैनिकमा खबर छ ।
सिलिङको प्रक्रिया अघि बढाउन भन्दै अर्थ मन्त्रालयले आन्तरिक र वाह्य स्रोतको सबै विवरण राष्ट्रिय योजना आयोगमा पठाइसकेको छ । चालू आवको बजेट नै अर्थतन्त्रको आकारभन्दा ठूलो भएको टिप्पणीका कारण सरकार ठूलो बजेट नल्याउने तयारीमा जुटेको छ ।
मन्त्रालयका अनुसार आयोगको स्रोत समितिको बैठकले अध्ययन गरेर बजेटको सीमा निर्धारण गर्नेछ “अर्थमन्त्रालयले समयमै बजेटको काम अघि बढोस् भनेर आवश्यक विवरणहरू योेजना आयोगसमक्ष पेश गरिसकेको छ, छिट्टै आयोगको स्रोत समितिको बैठकले निर्धारण गर्नेछ,” मन्त्रालय स्रोतले भन्यो ।
चालू आवको बजेटभन्दा १० प्रतिशतले मात्रै वृद्धि भएमा आगामी आवको बजेटको आकार ११ खर्ब ५२ अर्बको हुनेछ । सरकारले चालू आवका लागि भन्दै १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । तर, समयभन्दा डेढ महिना अगावै बजेट ल्याए पनि बजेट खर्च भने न्यून छ ।