
नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ लिएका छन् ।
शीतलनिवासमा मंगलवार अपरान्ह आयोजित कार्यक्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रियसभाको अध्यक्षमा मंगलवार नै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दाहाल विजयी भएका थिए । दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव मंगलवार राष्ट्रियसभाबाट पारित भएको हो ।
उनको पक्षमा ३९ र विपक्षमा १७ मत परेको थियो । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रियसभामा दाहाललाई माओवादी, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का सांसदले समर्थन गरेका हुन् ।

यसअघि नेपाली कांग्रेसका युवराज शर्मालाई अध्यक्ष बनाइयोस् भनि प्रस्तुत गरिएको प्रस्ताव अस्वीकृत भएको थियो । १७ सदस्यले मात्रै शर्मालाई मत दिएका थिए । शर्मालाई आफ्नै कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले मत दिएका थिए ।
विजयी भएका दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नाता पर्छन् ।