०४ असार २०८३, बिहीबार

बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

फागुन २९, २०८०
बुटवल
बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ ।

आर्थिक वर्ष २०७९–८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वाेत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो ।

नेपाल नगरपालिका संघले मंगलवार आयोजना गरेको एक समारोहमा बुटवललाई अवार्ड प्रदान गरिएको हो ।

काठमाडौंमा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरका प्रमुख (मेयर) खेलराज पाण्डेयलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो । तीमध्ये स्थानीय आर्थिक विकासतर्फ बुटवलले देशका सबै स्थानीय तहलाई उछिनेको हो ।

नगरले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको नगर प्रमुख पाण्डेयले बताए । ‘बुटवल उपमहानगरपालिका आफ्ना सबै क्षेत्र परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेको छ,’ उनले भने, ‘आर्थिक रचना र प्रणालीले मानिसको विधि–पद्धति, मानवसम्बन्धमा परिवर्तन ल्याउन सक्छ ।’

देशकै उत्कृष्ट नगरका रूपमा पुरस्कृत हुनुले आफूहरूको काममा हौसला थपिएको भन्दै प्रमुख पाण्डेयले नगरलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दललगायत सबै सरोकारवालालाई धन्यवाद दिएका छन् । उनले बुटवलमा विकास र परिवर्तनको यात्रा शुरू भएको भन्दै अनुभूति गर्न भने समय लाग्ने बताए । उनले बुटवलको मार्ग स्पष्ट रहेको र स्पष्ट चित्र देखिन पनि थालेको जनाए । 

सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम, बजेट र योजनाहरू अघि बढाइएको प्रमुख पाण्डेयले बताए । ‘विकास सँगसँगै नगरको सौन्दर्यीकरण, शहरी व्यवस्थापन र सेवासुविधामा सुधार ल्याउनु स्थानीय सरकारको प्रमुख दायित्व हो,’ उनले भने ।

उनका अनुसार उपमहानगरले आफ्ना नागरिकका आवश्यकतालाई दृष्टिगत गर्दै सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवा शुरू गरेको छ ।

बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ६० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि वितरण, अपांगता परिचयपत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य जाँच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधि वितरणलगायतका कार्यक्रम नागरिकको घरदैलोमै पुर्याइएको पाण्डेय बताउँछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्