
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको १५ महिनाको समयमा तीनपटक विश्वासको मत लिनुपर्ने अवस्थालाई इंगित गर्दै आफूलाई उथलपुथल भनेको प्रस्टीकरण दिएका छन् ।
बुधवार प्रतिनिधि सभामा प्रधामन्त्रीमथि विश्वासको मत माग्ने क्रममा राखिएको मन्तव्यमा प्रचण्डले उथलपुथल आफू एक्लैले नगरेको बताए ।
‘नयाँ राजनीतिक परिस्थिति बनेको र संसद्मा विश्वासको मत लिनका लागि उभिएको बेला एउटा शब्द उथलपुथलबारे कुरा उठिरहेको छ । तीनपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु आफैँमा उथलपुथल हो । मैले मात्र गरेको उथलपुथल होइन,’ प्रचण्डले भने, ‘पछिल्लो १५ महिनामा जे भोगिरहेका छौं, कसैकाप्रति व्यंग्यका रूपमा होइन, मैले घटनाक्रमलाई त्यसरी नै हेर्नुपर्छ भनेको थिएँ ।’
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ समीकरण बनेको दिन फागुन २१ गते प्रचण्डले आफू बाँचुञ्जेल उथलपुथल ल्याउने बताएका थिए ।