
हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले ब्याटिङतर्फ खराब शुरूवात गरेको छ ।
तेस्रो ओभर नसकिँदै नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल भुर्तेल ८ बलमा ५ रन बनाएर आउट भएका छन् ।
यसअघि नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो । विनोद भण्डारी २ बलमा ४ रन बनाउँदै आउट भएका थिए ।
नेपालले २.४ ओभरमा १६ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो ।
पीएनजीविरुद्ध नेपालले १७२ रनको लक्ष्य पछ्याइरहेको छ ।
बुधवार जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको हो । यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।
पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।
नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन÷तीन, करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए ।
पीएनजीले मंगलवार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको हराउँदै फाइनल यात्रा तय गरेको थियो । नेपालले भने मंगलवार नै पीएनजीमाथि ८५ रनको जीत निकाल्दै फाइनल पक्का गरेको हो ।
लिग चरणको खेल सकिँदा नेपालले ३ अंक र पीएनजीले २ अंक जोड्दा हङकङले १ अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।
नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टीम अंक बाँडेका थिए ।