
सहकारी ठगीमा जोडिएका व्यक्ति गृहमन्त्री बनिराख्दा अनुसन्धान प्रभावित हुने भन्दै संसदमा रवि लामिछानेको राजीनामा माग गरिएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद सीता मिजारले सहकारी ठगीमा नाम जोडिएका लामिछानेले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरेकी हुन् ।
‘बहालवाला गृहमन्त्रीको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ, न्याय निरूपणका लागि स्वार्थ बाझिने मान्छे सार्वजनिक पदमा बसिराख्नु कति जाहेर हो ? निष्पक्ष छानबिका लागि मार्गप्रशस्त गर्ने कि नगर्ने ? गृहमन्त्रीले नैतिक जिम्मेवारी लिने कि नलिने ?’ सांसद् मिजारले प्रश्न गरिन् ।
शून्य समयमा नेपाली कांग्रेसकी सरस्वती बजिमयले सहकारी ठगीमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाउनु गम्भीर विषय भन्दै प्रधानमन्त्रीको जवाफ माग गरिन् ।
त्यसअघि आकस्मिक समयमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले रविलाई गृहमन्त्री बनाउँदा सहकारी ठगीको अनुसन्धान प्रभावित हुने भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे ।
सहकारीमा ठगीमा जोडिएका लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको विषयलाई नेपाली कांग्रेसले सशक्त ढंगले उठाउने संकेत गरेको छ ।
बुधवार र बिहीवार बैठकको शुरूमै कांग्रेसले आकस्मिक समय लिएर रवि लामिछाने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ माग गर्दै जवाफ नआए संसद् चल्न नदिनेसम्मको चेतावनी दिएको छ ।