
सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । करिब ५ महिनाको छानबिनपछि तयार पारिएको प्रतिवेदन आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको हो ।
हङकङबाट तस्करी गरेर ल्याएको करिब ६१ किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मार्फत् ल्याएकोलगायत सुन तस्करीबारे आयोगले करिब साढे ५ महिना लामो अध्ययन र जाँचबुझ गरेर प्रतिवेदन बुझाएको हो ।
सुन तस्करीका विषयमा अध्ययन गर्न सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गत असोज १५ गते उच्चस्तरीय छानबिन आयोग बनाएको थियो । आयोगको सदस्यमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।
आयोगले केही व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिससमेत गरेको बताइएको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।
नेपालमा सुन तस्करी बढेपछि छानबिन गर्न सरकारले पूर्व न्यायाधीश डिल्ली आचार्यको अध्यक्षतामा असोज १५ गते आयोग गठन गरेको थियो ।
विशेष गरेर गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ६०.७१६ केजी सुन भित्रिएपछि सर्वत्र विरोध भएपछि सरकारले सुन आयोग बनाएको थियो ।